काठमाडौँ, ३१ साउन । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले निजामती कर्मचारी ऐन एक हप्ताभित्र संसदमा दर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रम २०८० लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले ऐनका लाग केही काम बाँकी रहेको बताए । उनले उक्त काम सके लगतै एक हप्ताभित्र ऐन दर्ता हुने बताए ।

उनले भने, ‘यही संसदमा दर्ता हुन्छ । संसदमा छलफल हुन्छ त्यसको लागि पहिला संसद् चल्नु पनि पर्छ । त्यसैले सरकारको तर्फबाट १ हप्ता भित्र संसदमा दर्ता हुन्छ । वैधानिक ठाउँको सल्लाह लिने काम बाँकी छ । त्यो काम सकिने बित्तिकै त्यसको एक हप्ता भित्रमा संसदमा दर्ता हुन्छ । औपचारिक रूपमा दर्ता भएको दिन तपाईँहरू सबैले तलब पाउनुहुन्छ ।’

निजामती कर्मचारी ऐन औपचारिक रूपमा दर्ता भएको दिन सबैको पारिश्रमिक दिने उनको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रको समस्या साझा भएको भन्दै समाधानका लागि सबै मिलेर लाग्नु पर्ने बताए ।