काठमाडौँ, ३० साउन । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म कोहीसँग मिल्न नसक्ने बताएका छन् ।

ओलीको सर्वसत्तावाद शैलीले व्यवहारमा संगठन सञ्चालन र राजनीतिलाई समेत कुरूप बनाएको उनको आरोप छ । ओलीले राजनीतिमा आधारभूत व्यवहार छोडेकाले सच्चिएर राजनीति लिगमा नआएसम्म एमालेसँग पार्टी एकता नहुने उनको जिकिर छ ।

उनले भने, ‘ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म घाटाको व्यापार चलाइरहन्छ । उहाँको चरित्र कुनै पार्टीसँग मिल्न सक्ने देखिँदैन । ओलीको सर्वसत्तावाद शैलीले व्यवहार र राजनीतिलाई कुरूप बनाएको छ । राजनीतिमा आधारभूत व्यवहार नसच्चिएसम्म एमालेसँग पार्टी एकता सम्भव छैन ।’

यसैगरी केही नेता तथा कार्यकर्ता पार्टीबाट बाहिरिएर पार्टीलाई कुनै असर नपर्ने उनले बताए । तीन करोड नागरिकमा २६÷२७ लाख सदस्य बनाउन एकीकृत समाजवादीलाई समस्या नहुने उनको जिकिर छ ।