बालुवाटार जग्गा प्रकरण छानबिनमा मेरो सहयोगी भूमिका रहन्छ : अध्यक्ष नेपाल

काठमाडौँ, २९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू पूर्व निर्धारित कार्यक्रमअनुसार युरोप भ्रमणमा गएका बेला माधव नेपाल भाग्यो भनेर समाचारहरू प्रकाशित भएकोमा चित्त दुखाएका छन् ।
सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले माधव नेपाल भाग्ने खालको मान्छे नभएको प्रस्ट्याए । साथै उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए ।
पूर्व प्रधानमन्त्री नेपालले भने, ‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ । बालुवाटार जग्गा प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’
अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको दाबी गरे । कुनै गल्ती अपराध र बदमासी नगरेको सन्दर्भमा उनले भने, ‘कतिपयले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन । गोली खाँदा त नभाग्ने, राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्छे म । कुनै पनि कानुनको प्रक्रिया अन्तर्गत प्रोसेसहरू अघि बढ्छन् ।’
अध्यक्ष नेपालले आफू लतारिएर स्वदेश नफर्केको पनि बताए । आफू युरोप जाने तयारीमा रहनु र सर्वोच्चको आदेश काकताली जस्तै भएको पनि उनले सुनाए । उनले देशको परिस्थितले गर्दा आफू दुई देशको भ्रमण छोट्टाएर फर्किएको भन्दै कुनै खास खास बेलामा नेताहरूको महत्त्वपूर्ण भूमिका हुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


