नर्सिङ कलेज सञ्चालक र नर्सहरू प्रदर्शनमा

काठमाडौँ, २८ साउन । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेर प्रदर्शन गरेको छ ।
आइतबार डा. गोविन्द केसी र चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेजहरू बन्द भएको भन्दै माइतीघरमा नर्सिङ कलेज सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले र्याली निकालेका छन् । समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफ्नो माग सरकारले सम्बोधन नगरेको आन्दोलनमा उत्रिनु परेको चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले बताए ।
सरकारले नीति एउटा र नीतिको व्याख्या गलत रूपमा गरेकाले आफूहरू बाध्य भएर तेस्रो चरणको आन्दोलन सुरु गर्नु परेको बताएका उनले सरकारको ऐन कानुन देशी भन्दा विदेशी शिक्षण संस्थाको हितमा रहेको दाबी गरे ।
उनले भने, ‘देशका नीति,नियम,ऐन,कानुनहरू एक किसिमले बनेका छन् तर,ती नीति,नियम, ऐन र कानुनहरूलाए गलत किसिमले व्याख्या गर्दै शिक्षा क्षेत्रलाई नियोजन गर्ने शिक्षा क्षेत्रका कार्यरत विश्वविद्यालय,प्रतिष्ठान,शिक्षालय,निजी शिक्षालयहरू,शिक्षक कर्मचारीहरूको सबैको अहितमा हुने गरी र विदेशी विश्वविद्यालय र शिक्षण संस्थाहरूलाई हित हुने गरी ऐनको कार्यान्वयन भइरहेको छ । त्यसको हामी विरुद्धमा छौँ ।’
देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी सञ्चालन गर्नेतर्फ राज्यलाई दबाब दिन समितिले असार ७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
उनीहरूले सिटिइभिटीको तत्काल पुनः संरचना गर्नुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरूको तत्काल भर्ना खोल्नुपर्ने, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका कारण बन्द भएका नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्नु पर्ने माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


