काठमाडौँ, २८ साउन । नेकपा एमालेले सुन तस्करी प्रकरणमा स्वतन्त्र र निश्पक्ष उच्चस्तरिय छानबिन समितिको अडानबाट पछि नहट्ने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा विशेष पत्रकार सम्मेलन गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले करिब क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले नै तस्करहरुलाई संरक्षण गरेको आशंका गर्दै आफूहरुले भनेजस्तो उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्नै नचाहेको बताए ।

पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति वाचन गर्दै गौतमले एमालेले अघि सारेको माग पुरा नभएसम्म दबाबका कार्यक्रम जारी नै राख्ने एमाले निर्णय कायम रहेको बताए । उनले भने, ‘सरकार समितिको नाम लिन नै नचाहेर अनावश्यक अडान लिइरहेको छ । माग पुरा नभएसम्म दवावका कार्यक्रम चलाउने कुरा यथावत छ ।’

उनले सत्ता संरक्षित र सुनियोजित ढंगले भएको सुन तस्करी प्रकरणका घटना बारम्बार दोहोरिएकाले गहिराइमा पुगेर अनुसन्धान हुनुपर्ने एमालेको माग दोहोर्याए । ‘गृह र अर्थ मन्त्रालय समेत जोडिएको यो विषय र नौ किलो अर्को सुन तस्करी प्रकरणमा सत्तारुढ पार्टीका नेता र परिवारसँग सामान्य सोधपुछ पनि नगर्नुले पनि यो बिषयमा सरकार जोडिएको आशंकालाई बल पुगेको छ’, एमालेको भनाइ छ ।

‘सत्यतथ्यको गहिराइमा आवस्यक नीतिगत कानुनी स्वतन्त्र, निश्पक्ष र न्यायीक छानबिन समिति गठन हुनुपर्छ’, एमालेले भनेको छ ।