जनकपुरधाम, २४ साउन । महोत्तरीमा १३ वर्षीय एक बालिकाको अपहरण, शरीरबन्धक र जबर्जस्ती करणीको घटना बाहिरिएको छ ।

जिल्लाको जलेश्वर नगरपालिका -९ की एक बालिका दुई महिना पहिले अपहरणमा परेकी थिइन । बालिकाको परिवारले प्रहरीलाई खबर गरेपनि प्रहरीले खोजतलाशमा कुनै चासो नदेखाएको परिवारजनको आरोप छ ।

पछि पीडित बालिकाको परिवारजनले गत असार ७ गते दिएको किटानी जाहेरीको आधारमा प्रहरीले सोही गाउँकी दुईजना बालिकालाई पक्राउ गरेको थियो । २ महिना बितिसक्दा पनि प्रहरीले पीडित बालिकाको पत्ता लगाउन सकेन ।

दुई महिनापश्चात गत शनिबार अपराहन्न ३ बजे पीडित बालिकाले लुकिछिपी आफैं अपहरणकारीको मोबाइलबाट आफन्तलाई फोन मार्फत जानकारी गराएपछि बालिकाको परिवारबाट पाएको सूचनाको आधारमा धनुषा र महोत्तरीको संयूक्त प्रहरी टोलीले जनकपुरधामस्थित रामानन्द चोकको एउटा घरबाट अपहरित बालिकाको उद्दार गरेको छ । बालिकाले आफुलाइ नशाजन्य पदार्थ खुवाएर पटकपटक दुश्कर्म गरेको बताएकी छन् ।

उक्त घटनामा पक्राउ परेका मानिसहरुमाथि अपहरण मुद्दा चलाइएको छ । प्रहरीले सत्य घटनालाई कसरी छानबिन गरिरहेको छ भन्ने विषय शंकास्पद बनेको छ ।

यता न्यायको आश बोकेको बालिकाकी आमालाई समाजका केहि व्यक्तिले उल्टै छोरीलाई नअपनाउन भन्न थालेका छन् । आमाले भने आफ्नो छोरीलाई अपहरण मात्र नभइ जबर्जस्ती करणी पनि गरिएको जिल्ला प्रहरी कार्यालयमा गुनासो गर्दा उल्टै दिनभरी आफूहरूलाई नै हिरासतमा राखिएको सुनाइन् । प्रहरीले राती १० बजे सुनसान ठाउँमा छाडेको उनले गुनासो गरेकी छन् ।

उक्त घटनामा पक्राउ परेका मानिसहरुमाथि म्याद थप गरि मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले बताएका छन् ।

बालिकाको मेडिकल रिपोर्टमा पनि पोजेटिभ देखाएको प्रहरीले जनाएको छ । महोत्तरीमा महिला उत्पीडनको घटना बढ्दै गएको छ । केहिदिन अघि बोक्सीको आरोपमा पिपरा गाउँपालिका-३ बस्ने काजल देवीलाई निर्घात कुटपिट गरिएको थियो ।