काठमाडौ, १९ साउन । स्वतन्त्र विद्यार्थी युनियनको पहलमा थापाथली क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेका हुन् ।

सानो क्षेत्रमा थापाथली क्याम्पस सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग उनीहरूले राखेका छन् । संयौको संख्यामा रहेका थापाथलीका विद्यार्थीहरूले क्याम्पसबाट माइतीघर मण्डलासम्म र्याली निकाल्दै प्रदर्शन गरेका हुन् ।

सरकारले १४० प्रतिशतसम्म शुल्क बढाउन लागेको उनीहरूको आरोप छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन खोजेको छ । त्यसको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

थापाथली क्याम्पसका स्ववियु सभापति पुष्करविक्रम शाहीले इन्जिनियरिङ क्षेत्रमा लगानी बृृद्धि गर्नुका साटो विद्यार्थीबाटै असुल गर्न खोजेको आरोप लगाए । सभापति शाहीले भने, ‘सरकारले सहुलियतमा विद्यार्थीहरूलाई इन्जिनियरिङ पढाउनुपर्नेमा विद्यार्थीबाटै महंगो शुल्क लिएर पढाउन खोजेको छ । यसमा हाम्रो घोर आपत्ति छ ।’

थापाथली क्याम्पसको स्थानान्तरण गर्नुपर्नेमा सरकार बेवास्था गर्दै बसेकाले खबरदारी गर्नुपरेको उनको भनाई छ । २०७२ सालमा गएको भुम्कपछि थापाथली क्याम्पस स्थानान्तरण गर्ने कुरा भएको थियो । त्यसका लागि कीर्तिपुरस्थित त्रिवि परिसरमा जग्गा समेत उपलब्ध गराइएको छ । तर, लामो समय हुँदा सम्म सरकारले स्थानान्तरणको लागि कुनै पहल गर्न गर्न सकेको छैन् ।

जति सक्दो थापाथली क्याम्पस स्थानान्तरण गर्नुपर्ने सभापति शाहीले बताए ।