जनकपुरधाम, १६ साउन । जानकी मन्दिरको प्रांगणमा रहेको फूलबारीमा लगाइएको करेसाबारी केही युवाहरुले हटाएका छन् ।

हिन्दूहरुको आस्थाको केन्द्र जानकी मन्दिरको प्रांगणमा अवस्थित जानकी फूलबारीमा रहेको करेसाबारी मंगलबार केही युवाहरुले हटाएका हुन् ।

विगत करिब १० दिनदेखी सामाजिक संजाल लगायत महन्थ एवं सरोकारबाला निकायको ध्यानाकर्षण गराउँदै आएपनि पहल नभएपछि बाध्य भएर आफूहरूले करेसाबारी हटाएको युवा अभियन्ता सरोज मिश्रले बताए ।

देश तथा विदेशका पर्यटकहरु जानकीसँग जुडेका धरोहर हेर्न आउँछन । तर, पटक पटक मन्दिरको संरचना सहित विभिन्न पौराणिक महत्वका स्थलहरुसँग मनोमानी भइरहेको देख्दा आफूहरू एक्शनमा आएको उनले बताए ।

अब केही दिनभित्रै करेसाबारीलाई फूलबारीको स्वरूपमा परिवर्तन गरिने अर्का युवा अभियन्ता सुशील कर्णले बताए । उनले मन्दिर प्रांगणभित्र लगाइएका सम्पूर्ण गैरधार्मिक पोस्टरहरू समेत हटाइने जानकारी दिए ।

जानकी फूलबारीमा केहीदिन अगाडी मन्दिरका महन्थद्वारा करेसाबारी बनाइएको थियो।