उपमेयरको स्कुलमा मरनासन्न हुनेगरी कुटिए बालक

जनकपुरधाम, १६ साउन । धनुषाको मिथिला नगरपालिका स्थित न्यू होराईजन ईङ्गलिश बोर्डिङ्ग स्कुलमा एक ६ वर्षीय बालक निर्घात कुटिएका छन् ।
धनुषाको मिथिला नगरपालिका बेङ्गाडाबरस्थित स्कुलमा बालकले चकचक गरेको भन्दै स्कुलका शिक्षकले मरनासन्न हुने गरी कुटपिट गरेका हुन् ।
शिक्षकको कुटाईबाट बालकको पिठ्यू, हात तथा घाँटीमा चोट लागेको छ ।
मिथिला नगरपालिका ढल्केवर बजार स्थायी घर भई न्यू होराईजन ईङ्गलिश बोर्डिङ्ग स्कुलको कक्षा १ मा पढ्दै गरेका सुजल कुशवाहालाई शिक्षकले निर्घात कुटपिट गरेका हुन् । सोमवार विहान करिब ९ बजेको समयमा स्कूलमा बच्चाहरुले चकचक गरेको भन्दै शिक्षक मोहन महतोले निर्घात कुटेको अभिभावक ओम विक्रम कुशवाहाले जानकारी दिए ।
बालकलाई उद्धृत गर्दै अभिभावक ओमविक्रम कुशवाहाले भने, ‘अझै चकचक गर्छस्, किन चकचक गरेको, अझै बदमासी गर्छस् । बदमासी गरिस् भने यसरी नै पिटाई खान्छस्’ भन्दै शिक्षक मोहन महतोले लाठीले हिर्काएका थिए । यसरी कलिला बालबालिकाहरुलाई हिर्काउनु शैक्षिक मर्यार्दा विपरित भएको कुशवाहाको भनाइ छ ।
‘यसरी स–साना अबोध बालकहरूलाई मरनासन्न हुने गरी कुट्ने हो । यति सानो बच्चालाई यसरी कुट्यो भने अर्को दिन स्कुल कसरी पठाउनु’ कुशवाहाले ६ वर्षीय अवोध बालक कुट्नेलाई कारवाही माग गर्दै भने, ‘स्कुलमा बच्चाले चकचक गर्यो भन्दै कुट्न पाइन्छ ? स्कुलमा हामी बच्चालाई केही सिक्न पठाउछौं अनि हाम्रो बच्चालाई यसरी पिटेर पठाउने कहाँको न्याय हो ?’
न्यू होराईजन ईङ्गलिश बोर्डिङ स्कुल मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


