काठमाडौं, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

उपसभामुख इन्दिरा रानाले मंगलबार अपराह्न चार बजे बैठक बस्नेगरी खवर आएको बताइन् । ‘मंगलबार बेलुका ४ बजे बैठक बस्ने खवर आएको छ’, उपसभामुख रानाले भनिन्, ‘एजेण्डा खुलाइएको छैन । ’

बैठकमा भावी प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने बताइएको छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदैछ ।

न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा सर्वोच्च अदालतमा उमेर हदका कारण कुनै न्यायाधीश अवकाशमा गई न्यायाधीशको पद रिक्त रहने अवस्था भएमा रिक्त हुने समयभन्दा एक महिना अगावै सिफारिस गर्ने कानुनी व्यवस्था छ । न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा ‘नियुक्तिका लागि सिफारिस गर्ने अवधि’ बारे उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँगको भेटवार्तामा संवैधानिक परिषदको बैठक बोलाउनेबारे छलफल गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।