जनकपुरधाम, २० कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको रक्तसञ्चार केन्द्रमा हाल ४९ युनिट मात्रै रगत मौज्दात रहेको छ ।

पछिल्लो रक्त भण्डार विवरणअनुसार जिल्लामा पोजेटिभ समूहका ४६ र नेगेटिभ समूहका ३ युनिट रगत मात्रै उपलब्ध रहेको छ ।

रेडक्रस धनुषाका अनुसार हाल ए पोजेटिभ २०, बी पोजेटिभ १५, एबी पोजेटिभ ८ र ओ पोजेटिभ ३ युनिट रगत मौज्दात छ ।

त्यस्तै, नेगेटिभ समूहअन्तर्गत ए नेगेटिभ ३ युनिट मात्रै उपलब्ध रहेको छ । बी नेगेटिभ, ओ नेगेटिभ र एबी नेगेटिभ समूहको रगत मौज्दात शून्य रहेको विवरणमा उल्लेख छ ।

रक्तसञ्चार केन्द्रमा ओ पोजेटिभ समूहको रगत न्यून रहेकाले आवश्यकताअनुसार रगत व्यवस्थापनमा चुनौती हुन सक्ने देखिएको छ ।

आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका बिरामीलाई जुनसुकै समयमा रगत आवश्यक पर्न सक्ने भएकाले नियमित रक्तदानको आवश्यकता रहेको छ ।

रेडक्रसका सभापति पंकजकुमार महतोले भने, ‘रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्छ । त्यसैले रगत आवश्यक परेपछि मात्रै रक्तदाता खोज्ने प्रवृत्तिको अन्त्य गर्दै स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्ने संस्कार विकास गर्नुपर्छ । एक व्यक्तिले गरेको रक्तदानले अर्को व्यक्तिको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।’

उनले युवावर्ग, सामाजिक संघसंस्था, विभिन्न क्लब तथा स्थानीय तहलाई रक्तदान कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न रेडक्रसले समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए ।

रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात पर्याप्त राख्न नियमित रक्तदान कार्यक्रम आवश्यक रहेकाले स्वस्थ नागरिकलाई रक्तदान अभियानमा सहभागी हुन रेडक्रसले आग्रह गरेको छ ।