काठमाडौँ, १२ साउन। परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा नेपालीहरुलाई अवैध ढंगले लगेर बन्धक बनाइएको सूचना आएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक ट्राभल एडभाइजरीसहितको सूचना जारी गर्दै समस्यामा परेका नेपालीहरुलाई लागि सम्पर्क गर्न भन्दै नम्बर सार्वजनिक गरेको छ ।

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको मन्त्रालयको भनाइ छ ।

तर त्यहाँ लगेपछि तलब तथा सुविधा  नदिइएको जानकारी प्राप्त भएको मन्त्रालयको सूचनामा भनिएको छ ।

यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानूनी रूपमा थाइल्यान्डबाट स्थल मार्ग हुँदै म्यानमारको कायिन क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२ देखि १३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानूनी काममा लगाउने गरेको मन्त्रालयले जनाएको छ ।

यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गर्ने भनेको मन्त्रालयले जनाएको छ । नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेका छ भने थप नेपालीको उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

तर म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकोले उद्धार गर्नसमेत चुनौती पूर्ण रहँदै आएको जनाइएको छ ।

मन्त्रालयले भनेको छ,’नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकोले यस्ता झूटा आश्वासनमा नपर्न नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ । साथै, विदेशमा रोजगारी गर्न जाँदा पर्यटक÷भिजिट भिसामा नगई प्रचलित नेपाल कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान अनुरोध गरिन्छ ।’

यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न समेत सम्बन्धित पक्षलाई मन्त्रालयले अनुरोध गरेको छ ।

’वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवम् नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यहरूमा संलग्न हुने÷गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकोले यस्ता गैरकानूनी कार्यहरू नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ मन्त्रालयको ट्राभल एडभाइजरीमा भनिएको छ ।