-मुकेश झा

सर्लाही,१२ साउन । सर्लाहीको पूर्वी तथा दक्षिणी क्षेत्रमा आकाशे पानीको भरमा हुने खेतिका कारण पूर्णरुपमा सुख्खा क्षेत्रको रुपमा परिणत भएको छ ।

प्रायः असारको अन्तिम सातासम्म धान रोपाइ सकिने यस क्षेत्रमा साउनको दोस्रो हप्ता बित्दा समेत २५ प्रतिशत किसानले पम्पिसेट चलाएर मात्र धान रोपाइँ गर्न सकेका छन् ।

सर्लाही सदरमुकाम पूर्व रहेको ब्रह्मपुरी गाउँपालिका, चन्द्रनगर गाउँपालिका, तथा ईश्वरपुर नगरपालिकाको खेतीयोग्य जग्गामा पम्पिसेट चलाएर धान रोपाइँ गरेपनि हरिपुर्वा नगरपालिका, पर्सा गाउँपालिका तथा सर्लाहीको उत्तरी तथा चुरे क्षेत्रमा पम्पिसेट नचल्ने ठाउँमा किसान अहिलेसम्म धान रोपाइँको लागि आकाश तिरै फर्केर बस्ने गरेका छन् ।

पम्पिसेट चलाएर रोपिएको धान पनि मौसम परिवर्तनका कारण खेतमै सुक्न लागेको हरिपुर्वा नगरपालिका वडा नम्बर २ का किसान रवीन्द्र ठाकुर बताउँछन । ठाकुरका अनुसार १० कट्ठा खेतमा १९ लिटर डिजेल खर्च गरेर रोपेको धान चर्को घामका कारण खेतमै सुक्न थालेपछि लगाएको खर्च पनि नउठने भएको छ ।

सर्लाहीको पूर्वी क्षेत्रभन्दा पश्चिमी क्षेत्रमा बागमती सिचाइ आयोजना , मनुषमारा सिचाइ आयोजनाले किसानको ९० प्रतिशत खेतमा पानी पुर्याउन सफल भएका कारण गोडैता नगरपालिकाको उत्तरी भेग, बसबरिया गाउँपालिका, धनकौल गाउँपालिका,रामनगर गाउँपालिका, हरिपुर नगरपालिका, बरहथवा नगरपालिका सहितका क्षेत्रहरूमा किसानले धान रोपाइँ गरिसकेका छन् । उच्च क्षेत्रमा पर्ने खेतमा पानी पुग्न बाँकी रहेकोले अहिले धान रोपाइँ  गर्न बाँकी रहेको धनकौल गाउँपालिका महिनाथपुरका राम एकबाल साहले बताए ।

सर्लाहीको पूर्वी तथा दक्षिणी क्षेत्रमा रहेको हरिपुर्वा नगरपालिका बसतपुर घर रहेको, क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने वर्तमान खानेपानी मन्त्री महेन्द्र यादव यसअघिको सरकारमा सिचाइ तथा कृषि मन्त्री भएका बेला पनि यस क्षेत्रको किसानका लागि ठोस सिचाइ आयोजना तथा कृषि क्षेत्रमा विद्युतिकरणका लागि गर्नुपर्ने पहल नगर्दा किसानहरू ठुलो मर्कामा परेका छन् ।