काठमाडौँ, ११ साउन । महोत्तरीमा एकजना मिटरव्याजीका नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका- ६ हतिसर्वाका ईन्द्रजीत साह रहेका छन् । उनी साहुहरुको संगठन लेनदेन संघर्ष समिति महोत्तरीका सह-सचिव हुन् ।

उनलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

छलफलमा बसेका एक प्रत्यक्षदर्शीका अनुसार मूलधनको ६ गुणासम्मको तमसुक बनाएको र दिएकै रकम अनुसारको तमसुक रहेकाले सोही बमोजिम ऋणीबाट असुल गर्ने अडान राखेपछि विवाद भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा मिटरब्याज सम्बन्धि उजुरी परेको छ ।