धनुषामा १२ वर्षीया बालिकालाई मुख बाँधेर बलात्कार, युवक फरार

जनकपुरधाम, २५ असार । धनुषामा १२ वर्षीया एक बालिकालाई मुख बाँधेर बलात्कार गरिएको घटना बाहिरिएको छ । जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१ मुसरिटोलस्थित एक बालिकालाई मुख बाँधेर बलात्कार गरिएको घटना बाहिरिएको हो ।
गत बैशाख १७ गते सबैला नगरपालिका वडा नम्बर–१ मुसरिटोलस्थित आफ्नै बारीमा गएकी स्थानीय १२ वर्षीया एक बालिकालाई सोही ठाउँ बस्ने ३२ वर्षीय महेश साहले मुख बाँधेर बलात्कार गरेको घटना बाहिरिएको छ । बालिकाको पेटमा ३ महिनाको बच्चा भएपछि युवक फरार भएका छन् ।
आफ्नै बारीबाट आउँदै गरेको बेला बालिकालाई महेशले जबर्जस्ती मुख छोपेर बलात्कार गरेको पीडितको आरोप छ । बालिकाका अनुसार महेशले सो कुरा कसैलाई बताए घरपरिवारसहित सबैलाई ज्यान मार्ने धम्की दिएका थिए ।
इलाका प्रहरी कार्यालय सबैलाले पनि कुनै मदत नगरेको पीडित पक्षको आरोप छ । फरार रहेका साहलाई पक्राउ गर्न सबैला प्रहरीलाई निरन्तर पीडितले सम्पर्क गरेपनि उनलाई पक्राउ नगरिएको पीडित परिवारको गुनासो छ । प्रहरीले आरोपितलाई राजनीतिक दबाबमा उम्कन मदत गरेको आरोप लगाइएको छ । पीडित परिवारले इलाका प्रहरी कार्यालय सबैलामा ती युवकमाथि जबर्जस्ती करणीको जाहेरी दिएका छन् ।
पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरिक्षक रामकृष्ण देवकोटाले जानकारी दिए । इन्स्पेक्टर देवकोटाले फरार युवकको खोजबिन जारी रहेको बताए । केहि दिनअघि सबैला नगरपालिका–६ मा यस्तै एक बलात्कारको घटना बाहिरिएपछि चार दिनमै अपराधीलाई पक्राउ गरिएको थियो ।
यता, घटनाबारे अनुसन्धान थालिएको र फरार युवकलाई पक्राउ गर्न प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।बालिकाको पेटमा रहेको बच्चालाई इलाका प्रहरी कार्यालय सबैलाको रोहबरमा गर्भपतन गराइएको पीडित परिवारको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


