धनुषामा बासी भात खान दिएको झोँकमा सौतेनी आमाको हत्या

जनकपुरधाम, २४ असार । धनुषा प्रहरीले आफ्नै सौतेनी आमालाई कर्तव्य गरी मार्ने एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने १९ वर्षीय प्रेमकुमार भगत रहेका छन् ।
भगतलाई उनकी कान्छी आमा ३९ वर्षीया मिरा देवी भगतले बासी भात खान दिएको रिसको झोँकमा विवाद भएको थियो । पछि उनले काठको चिरपट प्रहार गरी आमाको हत्या गरेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरि धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
‘प्रेमले आमासँग खाना माग्दा बासी भात खान दिएको र आफू बासी भात खान्न बरू होटलमा गएर खाना खान्छु भन्दा आमाले आफूलाई बुवाको समेत नाम जोडेर अनेक प्रकारको अपशब्द प्रयोग गरि गालीगलौज गर्दा आवेशमा आएर आमालाई धक्का दिँदा आमा भुँईमा लडेको कुरा प्रेमले स्वीकार गरेको उनले बताए ।
तत्पश्चात् आमाले आफूलाई त्यहाँ रहेको काठको चिरपटले हान्न खोज्दा आफूले सो चिरपट खोसेर आमाको पिठ्युँमा हान्दा टाउकोमा लागेर सोही ठाउँमा आमाको मृत्यु भएको कुरासमेत उनले बताएको एसपी खड्काले जानकारी दिए ।

मिरा देवीको मृत्यु भएलगत्तै आतिएर प्रेमले उनको शरीरमा आगो लगाई जलाएको कुरा प्रहरीको अनुसन्धानबाट खुलेको उनले बताए ।
मृतक महिला धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतको वेतिया जिल्ला नरकटियागंज थाना केयुनिया बस्ने राजु भगतकी कान्छी श्रीमती थिइन् ।
प्रहरीले उनको जेठी श्रीमतीबाट पनि २ छोरा र २ छोरी तथा मृतक महिलाको पनि दोस्रो विवाह रहेकाले पहिलो श्रीमानबाट २ छोरी र १ छोरा तथा हाल राजुसँगको विवाहपश्चात २ महिनाको एउटा बच्चा छ । करिव ७८ महिना पहिला राजुले जेठी श्रीमतीका छोरा प्रेमलाई समेत नेपाल ल्याई राजमिस्त्रीको काममा लगाएका थिए ।
मृतक महिला र निजको श्रीमानसँग बेलाबेलामा झै–झगडा हुने गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


