जनकपुरधाम, २४ असार । धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको कमला नगरपालिका वडा नम्बर–२ माचि झिटकैयास्थित खेतमा सिँचाई गर्न गएका स्थानीय ५५ वर्षीय सर्यदेव ठाकुर बरहीको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादवले ओछ्याएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाएको छ ।

तार ओछ्याएर छाड्ने सत्यनारायणको खोजी गर्नुका साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।