नक्कली नागरिकता लिएको आरोपमा उपप्रमुख यादव पक्राउ

सप्तरी, २० असार । नक्कली नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव पक्राउ परेकी छन् ।
कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा उपप्रमुख यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा लिइएको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
उच्च अदालत जनकपुरको राजविराज इजलासले गत आइतबार प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।
उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका-४ का कृष्णकुमार यादवले उजुरी दिएका थिए । प्रहरीले उजुरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए ।
रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । उपमेयर यादवका पति महेन्द्र भने फरार छन् । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । उनको पतिको खोजविन भइरहेको छ ।
उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


