जनकपुरधाम, २० असार । कृषिप्रधान देशका किसानलाई बढी असार लाग्नुपर्नेमा ठेकेदारहरूलाई मात्रै अचाक्लीसँग असार लागेको छ । मधेस प्रदेशमा त झन असारे विकासका थुप्रै नमूनाहरू पाईला पाईलामा देख्न पाइन्छ । प्रत्येक वर्ष असार महिनामै विकास निर्माणका कामहरू सम्पन्न गर्ने र फटाफट भुक्तानी लिने परिपाटिका कारण जनताले राज्यलाई तिरेको करको सम्बन्धित सरोकारवाला निकायले व्यापक दुरूपयोग गरिरहेको देखिन्छ । यस प्रदेशमा मुख्यमन्त्री कार्यालयको योजनादेखि वडास्तरीय योजनासम्ममा ठाउँठाउँमा विभिन्न छिद्राहरू छन् ।

असार मसान्त सकिनै लाग्दा ठूला देखि टुक्रे योजनासम्मका जिम्मेवारी लिएका सबै उपभोक्ता समितिहरूलाई काम सम्पन्न गर्ने चटारो देखिन्छ । सायद त्यसैले हुनसक्छ दिनरात केही नहेरि हिलोपानीको समेत विचार नगरेर उपभोक्ता समितिहरू निर्माण कार्यमा व्यस्त छन् । एकातर्फ निर्माण कार्य सम्पन्न भई बिल फर्छयौटको चटारो छ भने अर्कोतर्फ सम्पन्न भएका कामहरूको गुणस्तरीयतामाथि कसैले कुनै विचार पुर्याएको देखिँदैन ।

सडक, नालाजस्ता टुक्रे काम गरिरहेका उपभोक्ता समितिहरूले अधिकांश स्थानमा वर्षाकै बीच ढलान गरिरहेका छन् भने कतै हिलाम्य सडकमै पिसिसी ढलान गरिरहेका छन् । ढलानका लागि प्रयोग गरिएको सिमेन्ट वर्षाले बगाइरहेको छ भने हिलाम्य सडकमा भइरहेका ढलान भासिइरहेको छ । तर, उपभोक्ता समितिलाई गुणस्तरदेखि मतलब छैन । जसरी पनि पैसा निकासा गर्नुपर्ने छ ।

कामको एउटा यस्तै नमुना देखिएको छ, धनुषाको मिथिलाबिहारी नगरपालिकामा । नगरपालिकाको वडा नम्बर–६ सिरसिया पूर्वारी टोलमा उपभोक्ता समितिमार्फत भर्खर नाला निर्माणको काम सम्पन्न भएको छ । नगरस्तरीय योजनाको ४० लाख रूपैयाँको लागतमा सो पक्की नाला निर्माण गरिएको हो ।

नगरस्तरीय योजनामार्फत सम्पन्न भएको सो कामका लागि स्थानीय धिरेन्द्र झालाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको छ ।उनीमार्फत नै सो निर्माण सम्पन्न गरिएको छ । तर, निर्माण सम्पन्न भएको दुई दिन नबित्दै २५ मिटरको सो नाला भासिएको छ । स्थानीयले कमसल निर्माण सामग्रीको प्रयोग गर्दा नाला भासिएको दाबी गरेका छन् ।

यता, नगर प्रमुख राजेन्द्र प्रसाद यादवले सडकभन्दा नालाको हाइट बढि भएको र स्थानीयबासीले पानीको निकाससमेत जारी राखेकोले नाला भासिएको हुनसक्ने जानकारी दिएका छन् । उनले पिसिसी ढलान र सडकको बिचमा खाल्डो रहेको र वर्षा हुँदा नाला भासिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनले निर्माण कार्य शत प्रतिशत गुणस्तरीय रहेको दाबीसमेत गरे ।

उता, धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका–३ मंगलपुरमा माटोमाथि नै रड ओछ्याएर ढलान भइरहेको देखिएको छ । पिसिसी गर्नुअघि ईंटाको सोलिङ गर्नुपर्ने सम्झौता छ । तर, त्यहाँ हिलाम्य सडकमा सोझै ढलान गर्न सुरू गरिएको देखिएको छ ।

सोलिङ नै नगरी हिलाम्य सडकमा ढलान भइरहेको देखिएको छ । कहिँकतै ईंटा प्रयोग भएको पाइएन । सम्झौताविपरीत गुणस्तरहीन काम भइरहेको स्थानीयको गुनासो छ । तर, स्थानीयको कुरा सुन्ने कोही छैनन् ।

यस सम्बन्धमा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले सो काम प्रदेश सरकारको बजेटबाट भइरहेको र यसमा नगरको कुनै संलग्नता नरहेको जानकारी दिए । उनले आफ्नो पालिकाभित्र प्रदेश सरकारमार्फत भइरहेको अधिकांश योजनाहरूको काम निर्माण व्यवसायीहरूले अधुरै छाडेर फरार भएको बताए ।

प्रदेश सरकारको योजनाको अनुगमन गर्नेबारे स्थानीय सरकारसँग कुनै समन्वय पनि नगरिएको उनले जानकारी दिए ।

उनले भने, ‘प्रदेश सरकारका एउटा योजनाको काम पनि मापदण्डअनुसार भएको छैन । गुणस्तरहीन कामहरू अहिले पनि फटाफट भइरहेका छन् । मेरो पालिकाभित्र रहेका लक्ष्मीनारायण मन्दिर, दुधमती नदी र क्षीरेश्वरनाथ मन्दिरमा प्रदेश सरकारको योजनाबाट भएका कामहरू अहिलेसम्म पनि अधूरै छन् । यसलाई हेर्ने अथवा सोधखोज गर्ने कोही छैनन् ।’

स्थानीय रवीन्द्र साहले भने, ‘अहिले देशभर जताततै विकासका कामहरूले तीव्रता पाएका छन् । विशेषगरी सडक, सिँचाइ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका काम जोडतोडका साथ भइरहेको देख्न पाइन्छ । आवागमनलाई नै अवरुद्ध पारेर सडकमै ‘सडक निर्माणको काम हुँदैछ’ । नेपालमा हरेक वर्ष असार लागेपछि मात्रै किन विकासको कामले तीव्रता पाउँछ भन्ने प्रश्नको जवाफ खोजिरहेको छु म । प्रश्नको जवाफ नभेटेपनि यसमा आर्थिक अनियमितता अथवा भ्रष्टाचारको गन्ध भने हामी राम्रैसँग पाउँदै आएका छौँ ।’