सर्लाही, १९ असार । सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका–८ सोल्टीमा नहरले बगाएर एक बालकको मृत्यु भएको हो ।

बागमती–१०, नयाँबस्ती घर भइ सोल्टी बजारमा डेरा गरेर पसल सञ्चालन गर्दै आएका अनिल विकका चार वर्षीय छोरा दिक्षान्तको नहरले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो पसलदेखि झण्डै दुईसय मिटर पूर्वतर्फ खेल्ने क्रममा एक्कासी बागमती सिँचाई आयोजनाको नहरमा खसेर बेपत्ता भएका बालकलाई केहीबेरपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

उनलाई भेनस अस्पताल बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।