काठमाडौं, १८ असार । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले पुष्टि गरिन् ।

सीआईबीले यसअघि आइतबार ललितानिवास जग्गा प्रकरणको अनुसन्धानका लागि तीनजनालाई पक्राउ गरेको थियो ।

त्यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीनजना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना हिरासतमा छन् ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।