रौतहट, १८ असार । प्रहरीले रौतहटको विभिन्न स्थानबाट विद्युत् ट्रान्सफर्मर चोरी गर्न सक्रिय रहेको एक गिरोहलाई पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न खुला एकान्त स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर अनेक उपकरणको सहयोगले लगातार चोरी गर्ने गिरोहका ४ जनालाई अनुसन्धानको आधारमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर–६ पोठीयाहिका ४२ वर्षीय अशोक साह, कटहरिया १ भासेढवाका ४६ वर्षीय रामलाल महतो, सोही ठाउँका ३६ वर्षीय वीरेन्द्र राय यादव, ३७ वर्षीय सुखल महतो रहेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर अरविन्द कुमार साहले बताए ।

प्रहरीले उनीहरूको साथबाट एक थान मोटरसाइकल, एक थान स्कुटी, एक थान आइफोन र ३ थान अन्य कम्पनीको मोबाइल बरामद गरेको छ ।

आरोपीहरूको बयानको आधारमा गरुडा नगरपालिका–४ का लक्ष्मीप्रसाद चौधरीले आफ्नै घरमा सञ्चालन गरेको कवाडी पसलमा प्रहरीले आइतबार छापा मारेको थियो । त्यसक्रममा विद्युत् ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार लगायतको सामग्री ठुलो मात्रामा बरामद गरेको छ ।

तामाको तारको चुडी १५ थान, तामाको कवायल रोल १५ थान, खुला तामाको तार ७१ किलोग्राम बरामद भएको इन्स्पेक्टर साहले बताए । कवाड पसल सञ्चालक चौधरी भने फरार रहेका उनले जानकारी दिए ।