सर्लाही, १८ असार । विद्यालयको कम्पाउण्डवालमा हालिएको ढोकाले थिचिएर सर्लाहीमा एक विद्यार्थीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जिल्लाको हरिवन नगरपालिका–९ नयाँरोडस्थित ज्ञानज्योती बोर्डिङ स्कूलको कम्पाउण्डवालको मूलगेट लडेर थिच्दा यूकेजी कक्षामा अध्ययनरत आयुष वलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार गेटले थिच्दा सोही स्कूलको कक्षा २ मा पढ्ने ७ वर्षीय आदित्य लो घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

सोमबार बिहान सबा १० बजे विद्यालय भित्र छिर्ने बेलामा कम्पाउण्डवालको ढोका एक्कासी लड्दा उनीहरु थिचिएका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।