अर्कालाई आफ्नो छोराछोरी भन्दै नागरिकता दिलाउन खोजेको आरोपमा श्रीमान–श्रीमती पक्राउ

बुटवल, १८ असार । अर्कालाई आफ्नो छोराछोरी भन्दै नागरिकता दिलाउन खोजेको आरोपमा बुटवलबाट श्रीमान र श्रीमती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी श्रीमती ४२ वर्षीया सीता रहेकी छन् ।
उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । उनीहरुसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ ।
नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवल पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइएको सूचना अधिकारी ज्ञवालीले बताए ।
नागरिकता बनाउनेहरु कशौधन दम्पतीकै छोराछोरी हुन् भनी बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको देखिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


