जिल्ला प्रशासन धनुषामा खुल्यो नागरिकताको टेण्डर, १० देखि २५ हजारसम्म रेट निर्धारण !

जनकपुरधाम, १८ असार । सोमबार दिउँसो करिब २ बजेको समयमा जिल्ला प्रशासन कार्यालय धनुषाको झ्याल अगाडि सयौं सेवाग्राहीहरुको भीड थियो । लाईनमा उभिएर नागरिकता फाँटका कर्मचारीलाई ‘सर… सर..’ भन्दै बोलाइरहँदा कर्मचारीले भने उनीहरुको कुरा नै सुनिरहेका थिएनन् । हामी रिर्पोटिङ्गको क्रममा त्यहाँ पुग्दा यस्तो दृष्य देख्यौं ।
लाइनमै उभिएका एकजना सेवाग्राहीलाई बाहिर बोलाएर उनको समस्यबारे सोध्यौं । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–७ बस्ने धनिकलाल महतोले आफू गत शुक्रबारदेखि नै यहाँ नियमित दौडिरहेको सुनाए । उनी आफ्नो जन्मसिद्ध नागरिकता बनाउन नियमित दौडधुप गरिरहेका थिए । तर, उनको काम कर्मचारीले गर्न मानिरहेका थिएनन् । उनले आफूसँग नागरिकता प्राप्त गर्न आवश्यक सम्पूर्ण प्रमाण हुँदाहुँदै पनि कर्मचारीले विभिन्न बहाना बनाएर काम गर्न नमानिरहेको गुनासो पोखे ।

‘कर्मचारीले भनेको सबै मुचुल्का र कागजात लिएर आएको छु । तर, काम गरदिँदैनन्,’ उनले भने, ‘सिडियोलाई पनि भने, फाँटमा जानुस् काम भइहाल्छ भन्नुहुन्छ तर यहाँ गरदिँदैनन् ।’
उनीसँग कुरा गरिरहँदा अर्का सेवाग्राही पनि आफ्नो समस्या सुनाउन हामी नजिक आईपुगे । मिथिला नगरपालिका वडा नम्बर–८ कुसुमबिसौना बस्ने सुदिपकुमार महतोले आफूले नाता प्रमाणित र बसोबास सम्बन्धी सम्पूर्ण प्रमाण संकलन गरेर ल्याइसकेको अवस्थामा पनि कर्मचारीले सो कागजात फेरि ल्याउन भनिरहेको बताए । आफू विगत तिन दिनदेखि जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन दौडधुप गरिरहेको उनको दुःखेसो थियो ।
‘मागेको जति सबै कागजात ल्याएको छु तर कर्मचारीले काम गरिदिएनन् । यो मिलेन, त्यो मिलेन भन्दै फर्काउँछन्,’ उनले भने, ‘सुरुमै एउटा दलालले पैसा दिन्छौ भने एकै दिनमा काम गराइदिन्छु भनेको थियो । मैले दिइनँ ।’
‘मागेको सबै कागजात बुझाएर दौडेको दौड्यै छु तैपनि कर्मचारीले काम गरदिँदैनन्,’ उनी भन्छन्, ‘घुस लिन बिचौलियामार्फत काम गराउन खोज्छन् । बिचौलियामार्फत जानेको काम फटाफट हुन्छ ।’

यसरी हुन्छ पैसाको बार्गेनिङ्ग
सुदिपले कार्यालय बाहिर बिचौलियाहरुको बिगबिगी रहेको र उनीहरुको माध्यमले काम गराउन लगाउँदा केहीबेरमै काम हुने गरेको सुनाए । उनले सो कुरा दाबीका साथ बोलेपछि हाम्रो मनमा पनि यहाँ बिचौलियाको माध्यमले काम हुन्छ कि ? भन्ने शंका उब्जियो । हामी बिचौलियालाई खोज्न सुरु गर्यौं । सुदिपले हामीलाई एकजना बिचौलियाको काम गर्ने व्यक्तिको मोबाइल नम्बर पनि उपलब्ध गराए । उनले उपलब्ध गराएको मोबाइल नम्बर ९८१६७८८८१० मा हामीसँगै गएका सहकर्मी भाइको मोबाइलबाट फोन गर्यौं, फोन उठयो ।
‘मलाई मेरो भाइको नागरिकता बनाउनु पर्नेछ, यहाँ कार्यालयमा आएको छु । एकजना दाईले तपाईंको नम्बर मलाई दिनुभएको थियो । म धेरै दिनदेखि दौडधुप गरिरहेको छु, कृपया मेरो भाइको नागरिकता बनाउन लगाईदिनुस् न’ भनेपछि उनले हुन्छ तपार्ई कदमचोक आएर कुरा गर्नुस् भन्दै फोन काटे । त्यसपछि फेरि हामीले सुदिपसँग पनि सोही नम्बरमा फोन गर्न लगायौं । सुदिपलाई उनले गंगासागर घाटमा आउन भने । हामीले सुदिपलाई त्यहाँ जान भन्यौ । उनी केहीबेरमै त्यहाँ पुग्दा ति बिचौलियाले उनीसँग पैसाको बार्गेनिङ्ग गरे । सुदिपलाई उनले नागरिकता बनाउनु छ भने यसमा धेरै झन्झटिलो प्रक्रिया छ तपाईंले २५ हजार रुपैयाँ तिर्नुपर्छ भन्दै बार्गेनिङ्ग गरे । सुदिपले धेरैबेर आग्रह पनि गरे तर उनले सोभन्दा कम नहुने र काम गराउनु छ भने चाँडो पैसा लिएर आफूसँग फेरि सम्पर्क गर्न भन्दै त्यहाँबाट निस्के ।

केहीबेरमै सो नम्बरबाट फेरि सहकर्मीको नम्बरमा फोन आयो । उनले तपाईंलाई नागरिकता बनाउनु पर्ने छ भने छिटो कदमचोक आएर मसँग भेटनुस् भन्दै फोन काटे । त्यसपछि हामीले यसको तहसम्म जाने प्रयास गर्यौं । धेरैबेर जिल्ला प्रशासन कार्यालयमै समय बितायौं । हामीलाई देख्दा कयौं सेवाग्राहीहरुले आ–आफ्नो समस्या सुनाउन थाले । सबैको प्रायः एउटै गुनासो थियो । यहाँ आफैं घण्टौं लाईनमा उभिएर काम गराउन सहज छैन, त्यसको लागि बिचौलियामार्फत नै आउनुपर्छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता बनाउनका लागि सबै प्रमाणहरु जुटेको खण्डमा पनि १० देखि १५ हजार रुपैयाँसम्म माग्ने गरेको एकजना सेवाग्राही धनुषाको बटेश्वर गाउँपालिका बस्ने मनोहर महतोले बताए । उनले बिचौलियाहरुमार्फत कर्मचारीदेखि प्रमुख जिल्ला अधिकारीसम्म पैसा पुग्ने गरेको दाबीसमेत गरे ।
कार्यालय परिसरको बाहिरबाट व्यापार
जिल्ला प्रशासन कार्यालयसँगै रहेको अधिकृत संगमको भवनमा सडक छेउबाट ४ वटा सटरहरु छन् । ति सबै सटरमा फोटो स्टुडियो र फोटोकपि मेसिन राखेर व्यवसाय सञ्चालन भइरहेको छ । त्यहाँ गौरी फोटो स्टुडियोका रामभरोस मण्डल, अलिसा डिजिटल स्टुडियोका वीरेन्द्र चौधरी, एमके स्टुडियोका राजेश साह र दिपक फोटोकपीका जिवछ साहलगायत शंकर पासवान र प्रदिप महतोहरु मिलेर नागरिकता बनाउन आउने सेवाग्राहीहरुसँग पैसाको बार्गेनिङ्ग गर्दै आएको स्रोतको दाबी छ ।

बिचौलियाले सेवाग्राहीसँग रकमको बार्गेनिङ्ग गरेर संकलन गरेका कागजातहरु जिल्ला प्रशासनका कार्यालय सहयोगी भक्तबहादुर भुजेल र अन्य दुईजना बिचौलिया कपिलेश्वर महतो एवम् जितेन्द्र यादवमार्फत कर्मचारीको टेबलसम्म पुर्याइन्छ ।
स्रोतले भन्यो, ‘आफ्नो काम आफैं गराउन पुगेका सेवाग्राहीहरु घण्टौं लाईनमा उभिएपनि उनीहरुको काम एकदिनमा पनि हुँदैन । तर, बिचौलियामार्फत कर्मचारीको टेबलसम्म पुगेका कागजातहरुको काम एकछिनमै सम्पन्न हुन्छ । यस कार्यमा सुब्बाहरु सुनिल साह र ब्रम्हदेव यादव तथा उनीहरुका सहयोगी मिथिलेश ठाकुरको संलग्नता रहन्छ ।’
ति कर्मचारीले नै नागरिकता शाखाका कर्मचारीहरूको टेबलसम्म बिचौलियामार्फत आएका कागजातहरू पुर्याउने गरेको स्रोतको दाबी छ । यस कार्यमा तलदेखि माथिसम्मका सबै कर्मचारीहरुको संलग्नता रहेको बताइएको छ ।

सेवाग्राहीहरूका अनुसार नागरिकता प्रमाणपत्र बनाउने, प्रतिलिपि निकाल्ने, राष्ट्रिय परिचयपत्र बनाउने जस्ता काममा कर्मचारीले कुनै न कुनै अड्को थाप्छन् । तर, केही पैसा दिएमा अड्को फुकाएर काम गराइदिने भन्दै बिचमै बिचौलियाहरू आउँछन् ।
यता, प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । उनले कार्यालयमा बिचौलियाको बिगबिगी देखिए समातेर कारवाही गरिने दाबीसमेत गरेका छन् । तर, जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीले जति नै हैरानी व्यहोर्नु परेपनि कुनै कर्मचारीमाथि अहिलेसम्म कुनै कारबाही गरिएको देखिदैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


