धनुषाका एसपी र डिएसपीविरुद्ध किटानी जाहेरी

जनकपुरधाम, १६ असार । धनुषाका एसपी र डिएसपीविरुद्ध किटानी जाहेरी परेको छ । सिंगो परिवारका सदस्यलाई बयानका लागि बोलाएर प्रहरी कार्यालयमा कुटपिट तथा यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका–८ खिरखिरिया २० वर्षीया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी हुन् ।
गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने २२ वर्षीया आरती साहकी बहिनी हुन् । नगराइनका विनोद प्रसाद साहकी छोरी मनिषाले धनुषाका एसपी विश्वराज खड्का, डिएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साहसहितका प्रहरीविरुद्ध जिल्ला हुलाक कार्यालय धनुषाबाट जिल्ला सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी पठाएकी हुन् ।
त्यसअघि पीडित परिवार जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ एसपी खड्काले प्रहरीमाथि कुटपिट र अन्याय गरी उल्टै आफूहरुलाई थप पीडा पुर्याएकाले हुँदै नभएको घटनको जाहेरी नलिने प्रतिक्रिया दिएका थिए । त्यसपछि आरतीका परिवार सरकारी वकिलको कार्यालय पुगेका थिए । त्यहाँ समेत जाहेरी नलिएपछि मनिषाले हुलाकबाट पठाएकी छन् ।
उनीहरुलाई एड्भोकेसी फोरम नेपालबाट अधिवक्ता कुमार प्रसाद थपलिया र सूचना अधिकृत विन्देश दाहालले सहयोग गर्न पुगेका थिए । मनिषासँगै उनका भाइ प्रेम, हजुरबुबा रामअशिष साहसहित गएका थिए । बयानका लागि बोलाएर प्रहरी कार्यालयमा आफ्नो परिवारका सदस्यमाथि दिएको चरम यातनामा संलग्न प्रहरीलाई कारबाहीको माग जाहेरीमा गरिएको छ ।
आरती मृत्यु प्रकरणको मिसिल सरकारी वकिल कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा थप बयानको लागि फर्काएपछि जेठ ३२ गते माइत पक्षका सदस्यलाई बोलाएका थिए ।
जाहेरीमा उल्लेख व्यहोरामा दिउँसो १२ बजे पुग्दा प्रहरीले सुरुमा आमा निर्मलाको बयान लिएका थिए । दिएको बयान र प्रहरीको लिखतमा फरक परेको भन्दै हस्ताक्षर गर्न नमान्दा प्रहरीले कुटपिट तथा यातना दिनुका साथै दिउँसो ३ बजेदेखि राति १० बजेसम्म थुनामा राखेको जाहेरीमा उल्लेख छ ।
बयानका लागि आमा निर्मला, बुबा विनोद, बहिनी मनिषा, भाई प्रेम र मामा सन्तोष प्रहरीमा पुगेका थिए । प्रहरीले लेखेको बयानमा पाँचैजनालाई जवरजस्ती सही छाप गर्न कर गरेको र नमान्दा डिएसपी गौतमसहितका प्रहरी कर्मचारीले कुटपिटसहित थुनेर शारिरीक तथा मानसिक यातना दिएको उल्लेख छ ।
दिदिको मृत्युपश्चात् विभिन्न निकायमा उजुरी जाहेरी किन दिएको, बयानमा किन हस्ताक्षर नगरेको भन्दै डिएसपी गौतमले हातले आफ्नो घाँटी न्याकेर उचारी भूँइमा बजारेको, लछारपछार गरेको, देब्रे कन्चटमा झापडले र लात्तीबुटले तल्लो पेटमा हिर्काएको, गम्भीर चोटको कारण रक्तश्राव भएको, देब्रे कान नसुन्ने गरेको जाहेरीमा मनिषाले उल्लेख गरेकी छन् । जसको त्यसै राति प्रादेशिक अस्पताल जनकपुरमा गराएको उपचारको घाउजाँच फारम, निलडामको तस्वीर पनि जाहेरमा संलग्न गरिएको छ ।
एकजना कार्की थर भएका प्रहरी इन्सपेक्टर, सई जयप्रकाश ठाकुर, नाम थाहा नभएका दुईजना महिला प्रहरी र अन्य प्रहरीहरुले आफूलाई रक्तश्राव भइरहँदा कपाल समातेर घसारेको, झापडले हिर्काउने क्रम जारी राखेको, आफ्ना भाइ प्रेमलाई बुट र बन्दुकको कुनाले हिर्काउँदा अवस्था सिकिस्त भएर बान्ता गरेको, जुता निकालेर फोहोर मोजा सुँघाइएको, आमाको नाक कानमा लगाएको गहना दुईजना प्रहरीले अमानवीय ढंगले थुतेर थुनुवा कक्षमा लगेको, बुबा र मामालाई जथाभावी लातबुट र झपडले हानी थुनामा राखेर चरम यातना तथा अमानवीय व्यबहार गरेको जाहेरीमा उल्लेख छ ।
त्यस्तै राति साढे ९ बजे एसपी खड्काले आमा बुबासहित सबैलाई थुनाबाट निकालेर पार्किङ स्थलमा लगेर आरतीको विषयमा विभिन्न संस्थामा किन उजुरी दिएको भन्दै गालीगलौज गरेको उल्लेख छ । कुटपिट तथा यातनाको विषयमा कतै उजुरबाजुर गरे ज्यानमार्ने धम्की दिँदै एसपी खड्काले आईन्दा आफ्नो खुट्टा आमाबुबालाई ढोग्न लगाएको, त्यस क्रममा आमाबुबा भक्कानिएर पीडाले रोएको जाहेरीमा दावी गरिएको छ ।
आफ्नो परिवारको सदस्यको शंकास्पद मृत्यु हुँदा सत्य जान्न खोज्नु, अनुसन्धानका लागि राज्यका सरोकारवाला अंग तथा संस्थाहरू गुहार्नु, सुचना माग गर्नु, उजुरी र निवेदन दिनु जस्ता सामान्य प्रयत्न जो कोहीले कानुनी अधिकारको प्रयोग गर्दा उल्टै पीडित परिवारलाई निर्ममतापूर्वक यातना दिएर प्रहरीले कसुर गरेकोले कानुन बमोजिम कारबाहीको माग दावी जाहेरीमा गरिएको छ ।
यता धनुषा प्रहरीले आरतीका माइतपक्षले आफूहरुमाथि कुटपिट तथा दुव्र्यवहार गरी पीडित बनाएको दावी गरेको छ । सत्यतथ्य अनुसन्धान गरी मुद्दा दाय गर्दा नै आरतीको पति र ससुरा पुर्पक्षका लागि जेल चलान भएको एसपी खड्काको तर्क छ ।
उनले आरतीको माइत पक्षले नाटकीय ढंगबाट दबाब सृजना गर्दा आफूहरु अन्यायमा अन्यामा परेके बताए । उनका अनुसार जेठ ३२ गते बयानको क्रममा मोबाइलबाट फोटो भिडियो लिख खोजेको र नलिन आग्रह गर्दा उनीहरुले नमानेपछि रोक्ने प्रयास गर्दा प्रहरीमाथि कुटपिट तथा ज्यादती गरेको तर्क एसपी खड्काको छ ।
जुन घटनामा आफ्ना ६ जनाप्रहरीमाथि आरतीको परिवारले कुटपिट तथा दुव्र्यवहार र कार्यालयमा तोडफोड जस्ता उच्छृंखल गतिविधि गरेको दावी छ । प्रहरी इन्सपेक्टर दिनेश अधिकारी, नवराज खड्का र विक्रम साह, सई जय प्रकाश यादव, प्रहरी सहायक हवल्दार सुस्मिता राई, महिला प्रहरी गोमा थापा, डिएसपी गौतमका सुरक्षागार्ड हनुमान राई माथि हातपात तथा दुव्र्यवहार भएको खड्काले बताए । उनले कुनै प्रहरीले उनीहरुमाथि कुटपिट नगरेको, महिलामाथि पुरुष प्रहरी जिउमा समेत नछोएको दावी गरे ।
आरतीको श्रीमान जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन् । गत असार ५ गते मृतक धनुषा जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


