बैँक खातामा पहुँच बनाई लाखौ रुपैयाँ लुट्ने गिरोहका ७ जना पक्राउ

रौतहट, १५ असार । रौतहट प्रहरीले अनाधिकृत रुपमा बैँक खातामा पहुँच बनाई लाखौ रुपैयाँ लुट्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको वृन्दावन नगरपालिका–३ बस्ने रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट ९ लाख रुपैयाँ गायब गर्ने गिरोहका ११ जनाको पहिचान भएकोमा ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गत जेठ ५, ६ र ७ गते दैनिक ३/३ लाखको दरले ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा अनाधिकृत रुपमा ट्रान्सफर गरी ठगी गरेको घटनामा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–१६ नगवा बस्ने २१ वर्षीय राज नारायण चौरासिया, वीरगंज–१९ केहुनी विन्दाबासनी बस्ने २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखाको बैदेश्वर गाँउपालिका–५ सिमबारी टोल बस्ने २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोकको भुम्लु गाँउपालिका–९ पिङगोला बस्ने १९ वर्षीय महेश थापा, उदयपुरको रौउतामाई गाँउपालिका–२ भुट्टार बस्ने २० वर्षीय केवल रास्कोटी, सिरहाको मिर्चैया नगरपालिका–८ भगवानपुर बस्ने १९ वर्षीय दिपे सदा र गोलबजार नगरपालिका–८ चोहर्वा बस्ने २३ वर्षीय श्रवण दास रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ६ थान मोबाइल, विभिन्न व्यक्तिहरुको विभिन्न बैंकको १५ थान एटिएम कार्ड, मोटरसाईकल १ थान र ६६ हजार नगद बरामद गरेको छ ।
पक्राउ परेकाहरुले अनाधिकृत रुपमा बैंकको खातामा पहुँच पुर्याई विभिन्न व्यक्तिको खातामा रकम ट्रान्सफर गरी आर्थिक अपचलन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले अनाधिकृत रुपमा ट्रान्सफर भएको रकम एटिएमबाट गैरकानूननी तवरले निकाली आर्थिक लाभ लिने गरेका थिए । यसका साथै विभिन्न व्यक्तिहरुलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाइल अनलाईन बैकिङको युजरनेम र पासवर्डसमेत पहुँचमा लिई खाताहरुबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने गरेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


