धान दिवस : सभामुख मण्डल सहितकाले रोपे धान

जनकपुरधाम, १५ असार । मानो रोपेर मुरी फलाउने महिना असार । शुक्रबार असार १५ अर्थात धान दिवस । पछिल्ला वर्षहरुमा यस दिनलाई धान रोप्ने र हिलो खेल्ने दिवसकै रुपमा मनाउन थालिएको छ ।
यसपालिको असार १५ मा मधेश प्रदेशको बिभिन्न जिल्लाहरुमा संघसंस्था तथा सरकारी स्तरमा धान दिवसमा धेरै ठाउँमा धान रोपियो । मधेश प्रदेशस्थित अखिल नेपाल किसान महासंघ, धनुषाधाम नगर कमिटीद्वारा अयोजित धान रोपाइँ कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले खेतमा धान रोप्दै गरेको भेटिए ।

धनुषाको धनुषाधाम नगरपालिका–८ कुम्हरा टोलस्थित किसान महासंघले आयोजना गरेको कार्यक्रममा सभामुख मण्डल धान खेतमै परम्परागत शैलीमा धान रोप्दै गरेको भेटिएका हुन् ।
मनसुनको आगमनसँगै कृषकहरु रोपाइँ गर्न चाँजोपाँजो मिलाउने गर्छन् । असार भन्नेवित्तिकै कृषकहरुलाई खेतमा कुलो लगाउने, पानी हुल्ने र रोपाइँको चटारो हुन्छ ।

सभामुख मण्डलले भने, ‘असारमा मानो रोपेर मंसिरमा मुरी फलाउँछन्, चिन्तामा हुन्छन कृषकहरु । असार लागेसँगै किसानहरु मानो रोप्ने चटारो छ ।’
सभामुख मण्डलले कामको थकान महसुस हुन नदिन धान रोप्नेहरु असारे गित गाँउदै छुपुछुपु धान रोप्ने परम्परागत गीतहरु हराएपनि त्यसलाई अहिले जोगाउन आवश्यक रहेको बताए ।
सभामुख मण्डलसहित किसानहरुको समुहले करिब ५ कठ्ठा खेतमा धान रोपाइँ गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


