बुटवल, १४ असार । महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका पाल्पाको भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानमा अवस्थित मन्दिरका मूल पुजारी ७० वर्षीय जीतनाथ योगीले मन्दिरमा दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोपमा निलम्बनमा परेका हुन् ।

पुजारी योगीले महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि मन्दिर व्यवस्थापन समितिको आकस्मिक बैठकले निलम्बन गरेको अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए ।

समितिका अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै यौनजन्य दुर्व्यवहारबारे सत्यतथ्य छानबिन नहुँदासम्म मूल पुजारीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख गरेका छन् ।

मन्दिरमा दर्शन गर्न पुग्ने महिलालाई प्रसाद दिँदा संवेदनशील अंगमा हात पु¥याएर दुर्व्यवहार गरेको योगीमाथि आरोप छ ।