संसद् नाटक घर मात्रै हो : सिके राउत

काठमाडौं, १३ असार । जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेस गरेको बजेट बुधबार बहुमतले पारित भएपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले त्यसको आलोचना गरेका छन् ।
उनले सांसदहरूको विरोध जनतालाई झुक्याउनलाई गरिएको नौटङ्की भएको र संसद् नभएर नाटक घर मात्रै भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखका छन्, ‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरिब विरोधी घोर असमान बजेटलाई, ताली पड्काएर सांसदहरूले आफैँले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसदहरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेस र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसदको मर्यादा रहनेथ्यो । तर दुर्भाग्य… सांसदहरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटङ्की न हो । यो संसद् नभएर नाटक घर मात्रै हो ।’
उनले जनमत पार्टी आफ्नो सिद्धान्तमा अडिक रहने उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘सिद्धान्तको राजनीति सा¥है महँगो हुन्छ – योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ । तैपनि ढुक्क हुनुहोस्, जनमत पार्टी जनतासँग उभिरहने छ, आफ्नो सिद्धान्तमा अडिग रहनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


