जनकपुरधाम, १३ असार । सरकारले आलु प्याजलगायत तरकारी र फलफूलमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाए लगत्तै जनकपुरधामका आलु प्याज व्यापारीहरु आन्दोलित बनेका छन् ।

जनकपुरधामका आलु प्याज व्यापारीहरुले करबिरुद्ध गरिरहेको आन्दोलनअन्तर्गत बुधबार नगरभित्र जुलुश प्रदर्शन गरेका हुन् ।

जनकपुरधामको पेठिया बजारबाट निकालिएको जुलुश जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । व्यापारीहरुले जुलुशमा आलु प्याजमा लगाइएको कर फिर्ता गर, खुल्ला सीमानाका बन्द गर लगायतका नारा लगाएका थिए ।

आलु प्याजका व्यापारीहरुले निकालेको जुलुशमा सहभागी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सरकारले आलु प्याज लगायतका दैनिक उपभोग्य वस्तुहरुमा लगाएको कर फिर्ता नगरे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए । उनले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि करको भर नपर्न हुने बताए । मुलुकलाई आत्मनिर्भर बनाउनका लागि जनताको ढाड सेक्ने गरी कर लगाएर कदापी सम्भव नहुने उनको भनाइ थियो ।

सरकारले आलु प्याजमा लगाएको मूल्य अभिवृद्धि कर फिर्ता नलिएसम्म आन्दोलन जारी रह्ने आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष आलउद्दिन अन्सारीले चेतावनी दिए ।

यता बुधबार बिहान व्यापारीहरुको आन्दोलनका बिच आलु प्याजको कालोबजारी समेत बढ्दै गईरहेको छ ।

बुधबार बिहानै जनकपुरधामका आलु प्याज व्यापारीहरुले भारतीय सीमानाका भएर अवैध रुपमा ल्याइएको आलु प्याज आलु प्याज नियन्त्रणमा लिएको छ ।

जनकपुरधामस्थित रेल्वेको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले कपिलेश्वरबाट अवैध रुपमा ल्याउँदै गरेको आलु प्याज नियन्त्रणमा लिएको थियो । तर सशस्त्र प्रहरीले सो आलु प्याज छोड्न लागेको सूचना पाए लगत्तै व्यापारीहरुले आलु प्याज नियन्त्रणमा लिई भन्सारमा बुझाउन दवाब दिएका छन् ।

महिनाथपुर सीमानाका भएर ७ बोरा आलु र २ बोरा प्याज ल्याईरहेको अवस्थामा प्रहरीले टेम्पो सहित सो समान बरामद गरेको थियो । आफूहरु टेम्पो मात्रै छोड्ने र आलु प्याज मात्रै भन्सारमा बुझाउन लागेपछि व्यापारीहरुले टेम्पो पनि भन्सारमा बुझाउन दवाब दिएपछि टेम्पो पनि भन्सारमा बुझाउन लागेको प्रहरीले जनाएको छ ।

यसरी आलु प्याजको कालोबजारी बढ्दै गएपछि आफूहरुको आन्दोलनलाई प्रभावित पारिरहेको आलु प्याज व्यवसायी संघ जनकपुरधामका उपाध्यक्ष ध्रुव साहले बताए । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म यो आन्दोलन जारी रह्ने उनले चेतावनी दिए । केही दिन यतादेखि जनकपुरधामका आलु प्याज व्यापारीहरुले आलु प्याजको बिक्री पूर्ण रुपमा बन्द गरेका छन् ।