जनकपुरधाम, १३ असोज । जनकपुरधाममा गुठीको जग्गामा घर निर्माण गर्न तथाछमछाड भइरहेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ धनेश्नर नगरमा रामजानकी दुल्हा दुल्हीन मन्दिरको नाममा रहेको ७ विग्हाभन्दा बढि जग्गामा अवैधानिक रूपमा भवन निर्माण भइरहेको क्रम अझै रोकएको छैन ।

भूमाफियाहरुको चलखेल र आर्थिक लेनदेनका कारण त्यहाँस्थित करिब सम्पूर्ण जग्गामा व्यक्तिले कब्जा जमाइसकेका छन् । स–साना झोपडीदेखि ठुलठुला भवनसम्म निर्माण हुने क्रम दिनहुँ जारी रहेको देखिन्छ । यस विषयमा सरोकारवाला सबै निकायहरु अहिलेसम्म प्रायः मौन नै देखिएका छन् ।

यसैबिच, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ बस्ने शिवशंकर नागवंशीले मन्दिरका महन्थ धनेश्वर दाससँग आफूले २०३२ सालमा नै मनखपमा खरीद गरेको कित्ता नम्बर ३०९ को ७ विग्हा १ कट्ठा १० धुर जग्गा मध्येको १० धुर जग्गामाथि धनुषाको सबैला नगरपालिका वडा नम्बर–७ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बिन्धी धनेश्वर नगर बस्ने नवल साहले जर्बजस्ती कब्जा जमाएर घर निर्माण गर्न लागेको आरोप लगाएका छन् ।

उनले रामजानकी दुल्हा भगवान मन्दिरको नाममा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ को कित्ता नम्बर–३०९ को ७ विग्हा १ कट्ठा १० धुर जग्गामध्ये राजन दाहालले लिएको मनखप जग्गादेखि पश्चिम भोला कवारले लिएको जग्गादेखि पश्चिम रोडदेखि पुर्व निज २ लग्गा उत्तर दक्षिण पूर्व पश्चिम पाँच लग्गा पुर्व दक्षिण तर्फबाट १० धुर जग्गा स्व. महन्थ धनेश्वर दाससँग मनखपमा खरीद गरी महन्थ दास जिवित रहुन्जेलसम्म उनलाई र उनको मृत्यु भएपश्चात मन्दिरमा प्रत्येक वर्ष कुत बुझाउँदै महन्थ दासले दिएको मनखप कागज अनुसार सोहि समयदेखि हालसम्म आफूले भोग चलन गर्दै आएकोमा कुनै विवाद नरहेको बताए ।

तर, नवलले अहिले आएर भूमाफियासँगको संलग्नतामा बलजफ्ती आफ्नो जग्गामा विना नक्सा गैरकानूनी ढंगबाट मापदण्ड विपरित घर निर्माण गरिरहेको शिवशंकर नागवंशीका छोरा मुन्ना नागवंशीले बताए । उनले आफ्नो जग्गामा नवलले कानून विपरित निर्माण गर्न लागेको निर्माण कार्य रोक्का गरी बिना नक्सा बनाएको संरचना समेत भत्काई उनलाई स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ३९ बमोजिम कारवाहीको माग गरेका छन् ।

उनले यस जग्गामा अवैध घर निर्माण गर्न/गराउन सबै संयन्त्र परिचालन गरिएको र यसमा भूमाफियादेखि स्थानीय प्रहरी प्रशासन आर्थिक लेनदेनमा परेको दाबीसमेत गरेका छन् ।

नागवंशीले त्यहाँ धनेश्वर नगर टोल सुधार समिति गठन गरि सो समितिको नाममा भूमाफियाहरू नवल साह, बेचन मण्डल, सत्येन्द्र पण्डे, अनिल दास, संतोष साह, गणेश साह र  ब्रम्हदेव यादवले टोलबासीसँग समय समय मुद्दा मामिलाको नाममा अवैध रूपले लाखौं रकमसमेत उठाउँदै आएको आरोप लगाए ।

उनले त्यहाँ अनिल दासले करिब ३ कट्ठा, बेचनले करिब १ कट्ठा, नवलले करिब १ कट्ठा, ब्रम्हदेव यादवले करिब १ कट्ठा, सत्येन्द्र पाण्डेले करिब १ कट्ठा र संतोष साहले १२ धुर जग्गा अवैधानिक रूपले कब्जा गरेर घर निर्माण गरि बसोबाससमेत गर्दै आएको बताए ।

हाल विवादित रहेको सो जग्गामा घर निर्माण नगर्न गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरेपनि नवलले कसैको कुरा नसुनी एकतर्फि रुपले मनोमानी घर निर्माण गरिरहेको मुन्नाको भनाइ छ । घर निर्माणको विषयमा उजुरी गरेपछि संस्थानले दुबै पक्षलाई बोलाएर छलफल गरी तत्काल घर निर्माण नगर्न भनेको थियो ।

गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्द प्रसाद कर्माचार्यले गठी संस्थान मातहतको सो तैनाथी जग्गामा व्यक्तिले निजि संरचना निर्माण गरे त्यसलाई भत्काउने प्रतिबद्धता जनाएका छन् । उनले गुठी अधिनस्थ जग्गाहरु व्यक्तिको हुन नसक्ने भन्दै अवैध निर्माण कार्यलाई रोक्नतर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए । नवलले यदि घर निर्माण गरिरहेका छन् भने त्यसलाई भत्काएर सो जग्गा गुठी मातहतमा ल्याउने उनको भनाइ छ ।

स्थानीय जिरोमाइल प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र यादवले त्यहाँ निर्माण कार्य नभइरहेको दाबी गरेपनि घर निर्माणको काम अझै रोकिएको छैन । बुधबार दिउँसो सञ्चारकर्मीको टोली त्यहाँ पुग्दा निर्माण कार्य भइरहेको पाइएको थियो ।

यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले सो जग्गाको कुत बुझाउँदै आएका शिवशंकर नागवंशीले सोही बेला नै महन्थसँग जग्गाको मोहियानी प्रमाणपत्र बनाउनुपर्ने बताए । उनले यदि यस्तो नभएको भए सो जग्गा कसैको नभई गुठी मातहतमा ल्याउनुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

जनकपुरधामभित्र गुठीका जग्गाहरुमा अवैध संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्दै मेयर साहले रत्नसागर मठ र रामजानकी दुल्हा दुल्हीन मन्दिरको आसपासमा निर्माण भएका अवैध संरचना भत्काउन कठिन रहेपनि नयाँ संरचना निर्माण हुन नदिन सबै सचेत हुनुपर्ने बताए । यो आम नागरिकको दायित्व पनि रहेको उनको भनाइ छ ।

उनले भने, ‘नगरभित्र पार्किङ्ग स्थल निर्माण गर्न उपमहानगरलाई जग्गाको लागि गुठीसँग हारगुहार गर्नुपर्छ । यसले तपाईं बुझ्न सक्नुहुन्छ कि सो जग्गाहरुको मालिक उपमहानगर नभई गुठी हो । त्यसैले यसमा गुठीलाई बढि चनाखो हुनुपर्दछ । हामीले त्यसका लागि सहयोग मात्र गरिदिने हो ।’

उनले गुठी मातहतको जग्गामा यदि कुनै व्यक्तिले नयाँ संरचना निर्माण गरिरहेका छन् भने उपमहानगरलाई जानकारी दिन आग्रहसमेत गरेका छन् । उपमहानरले त्यस्ता अवैध निर्माणलाई तुरन्त भत्काउने उनको प्रतिबद्धता छ ।

नगर प्रमुख साहले यस्तो प्रतिबद्धता जनाईरहँदा जनकपुरधाममा गुठी मातहतका सयौं जग्गाहरुमा अहिलेपनि रातारात निर्माण कार्य भइरहेको देखिन्छ । धनेश्वर नगरमै अहिलेपनि दर्जनौं नयाँ घरहरु निर्माण भइरहेका छन् ।

गुठीका जग्गाहरु अतिक्रमण

जनकपुरधामस्थित अधिकांश मठ मन्दिरका महन्थ र पुजारीहरुको संलग्नतामा यहाँका अर्बौ रुपैयाँ बराबरका गुठीका जग्गाहरु बिक्री तथा अतिक्रमण गरिएको पाइएको छ ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले जनाएअनुसार ३० विग्हा जग्गा अतिक्रमण भएको छ । तर, यो तथ्यांकको कैयौं गुणा बढी अर्बौं मूल्यका जग्गा भूमाफियाको कब्जामा छन् । मन्दिर र पोखरीको शहर मानिने जनकपुरधाममा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठूलठूला पक्की घर छन् । तिनले मन्दिरको पनि सौन्दर्य छेकेका छन् ।

यसले गर्दा यहाँका पोखरी, जग्गा, पाटीपौवा र देवालयहरु संकटमा परेका छन् । मठमन्दिरको सयौं विग्हा जग्गा बेचिएपछि कति मन्दिर लोप भइसकेका छन् भने भगवानका मूर्तिहरु समेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुरधाम गुठीलाई आफ्नै जग्गा जोगाउन समेत गाह्रो छ ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरधाममा भएको तथ्यांकअनुसार साविकमा धनुषा जिल्लाका विभिन्न मठमन्दिरको ५ हजार ८ सय ३५ विग्हा १० कठ्ठा १९ धुर जग्गा थियो । २०२१ सालमा भएको पहिलो नापीमा जग्गा तीन प्रकारले विभाजित गरिए । त्यसअनुसार जिल्लाभरि अधीनस्थ, तैनाथी र रैतान नम्बरी जग्गा गरी जम्मा ६ हजार १२९ विग्हा २ कठ्ठा १० धुर २ कनमा छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले गुठी, कुट्टी, मठमन्दिर, मस्जिद, पोखरीलगायतका सार्वजनिक जग्गा/स्मारकको विवरण पठाउन मालपोत, नापी र गुठी संस्थान कार्यालय तथा यहाँका १८ वटै स्थानीय तहलाई पत्राचार गरेको वर्षौं बितिसकेको छ । गुठी अधीनस्थ भनेको साविकदेखि नै मोहीमा लागेको जग्गा हो भने, तैनाथी जग्गा गुठी संस्थानकै कार्यालयको स्वामित्वमा पर्छ । रैतानी नम्बरी भनेको जग्गा धनीकै व्यक्ति विशेष भएको जग्गालाई भनिन्छ ।

गुठीकै तथ्यांकलाई आधार मान्ने हो भने साविकमा रहेका जग्गा नापीमा झण्डै २९४ विग्हाभन्दा बढी बढेको छ । २०४४ देखि २०५१ सालभन्दा पहिले मठमन्दिरबाट मनखपमा प्राप्त गरेको जग्गामा घर बनाई बसेको र सहरी नापीको नक्सामा पनि पक्की वा फुसको घर देखिएका लागि गुठी संस्था ऐन २०३३ को संशोधनसहितको दफा २५(३) मा २०४६ साल चैत २६ गतेभन्दा पूर्व गुठीको जग्गामा घर बनाई बसेका व्यक्तिलाई सो जग्गा रेकर्डमा परिणत गर्ने प्रावधान रहेको अनुसार लालपुर्जा दिइएको थियो ।

यस ऐनबमोजिम जिल्लाका गुठी जग्गाहरूमध्ये ३ हजार ६७३ विग्हा १० कठ्ठा ४ धुर २ कनमा व्यक्तिको नाममा रैतान नम्बरी भयो ।जिल्लामा रहेका मठ मन्दिरहरूको २ हजार ४५६ विग्हाभन्दा बढी जग्गाको संरक्षण गुठी संस्थान र स्थानीय प्रशासनले गर्नुपर्ने दायित्व छ । तर, संस्थानका कर्मचारी, मठ मन्दिरका पुजारी तथा महन्थ, प्रशासन, सुरक्षाकर्मी र राजनीतिक दलका नेता तथा भूमाफियाको संलग्नतामा जिल्लाभरिमा अर्बौं मूल्यका सयौं विग्हा जग्गा गायव भइसकेका छन् । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका अनुसार हालसम्म ३० विग्हा ७ कठ्ठा १८ धुर जग्गा अतिक्रमण भएको छ ।

तर, मन्दिरपिच्छे ठहरिएका बस्ती, लाग्ने गरेको बजार, बस पार्क, राजनीतिक दलदेखि विभिन्न संघसंस्थाका कार्यालयले मनमौजी जग्गा हडपेका र किनबेच समेत गरिरहेका छन् ।

पुरातात्विक सम्पदा, मठमन्दिर, सार्वजनिक सम्पत्ति, धार्मिकस्थलको संरक्षण गर्ने जिम्मा सबैको रहेको देखिएको छ । गुठीको जग्गा अतिक्रमण गरेर अहिले यहाँ ठूलठुला पक्की संरचना बनिसकेका छन् भने अतिक्रमणले गुठीको जग्गा त घट्यो–घट्यो, मठमन्दिरहरुको अस्तित्वमाथि समेत प्रश्नचिन्ह उठेको छ ।

संस्थानले नियुक्त गरेका मठमन्दिरका महन्थ, पुजारी नै जग्गा खरिदबिक्रीमा लागेका छन् । गुठी संस्थानको जग्गाको हकमा रक्षक नै भक्षक भएको देखिन्छ । सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्दै आएका जनकपुरधामका स्थानीय युवा भरत साह भन्छन, ‘यहाँ माफियाको राज छ । मन्दिरदेखि संस्थासम्म सबैमा ब्रह्मलुट मच्चिएको छ । राजनीतिक खोल ओढेर मठमन्दिरको जग्गा भूमाफियाले अपचलन गरेको साहले बताए ।

राजदेवी मठको २७ विग्हा ९ धुर जग्गामध्ये ९ विग्हा ९ धुर जग्गा अतिक्रमण भइसकेको छ । ५ वर्षअघि गिरी महन्थको जिम्मेवारीमा आएपछि उनले जग्गा खोज्न थालेका छन् । पहिलाका पुजारी र स्थानीय राजनीतिक दलका नेताले मठको जग्गा अतिक्रमण गराएपछि अहिले बस्ती नै बसेको छ ।

गुठीका जग्गा ठेक्कामा

जनकपुरधामका गुठी अधिनस्त अधिकांश जग्गाहरु ठेक्कामा लगाइएको छ । एकातर्फ जिल्लाभरिमा अर्बौं मूल्यका सयौं विग्हा जग्गा गायब भइसकेका छन् भने अर्कोतर्फ हालसम्म ३० विग्हा ७ कठ्ठा १८ धुर जग्गा अतिक्रमण भइसकेका छन् । त्यस्तै, अधिकांश जग्गाहरु ठेक्कामा समेत लगाइएको देखिन्छ । जसको कुनै लेखाजोखा नै छैन् ।

जनकपुरधाम–२३ बेलाकुट्टीस्थित रामजानकी दुल्हा दुल्हीन भगवान मन्दिरको कित्ता नम्बर ३०९ मध्ये १ विग्हा ११ कठ्ठा १० धुर जग्गा ५ बर्षका लागि विश्व भारती फाउण्डेशन, सोही कित्ता मध्येबाट ५ विग्हा १० कठ्ठा ३८ वर्षका लागि गजेन्द्र नारायण स्मृति प्रतिष्ठान र ४ विग्हा जनकपुर अञ्चल बस व्यवसायी संघलाई २०८० पुस मसान्तसम्मका लागि ठेक्कामा दिइएको देखिन्छ ।

त्यस्तै, जानकी मन्दिर अधिनस्त रहेको जनकपुरधाम–१८ स्थित भोयल मठको जग्गाबाट ३२ बिग्हा १० कठ्ठा १६ धुर २० वर्षका लागि जनकपुरधाम उपमहानगरपालिकाले, जनकपुरधाम–३ स्थित लक्ष्मण मन्दिरको वडा नम्बर–१४ स्थित विभिन्न कित्ताको क्षेत्रफलबाट १६ बिग्हा १७ कठ्ठा १९ धुर १ कनमा ३० वर्षका लागि राष्ट्रिय खेलकुद परिषद्ले, राम मन्दिर अधिनस्त जनकपुरधाम–४ स्थित कित्ता नम्बर ३६ को ५ कठ्ठा ३ धुरमध्ये १० धुर २५ वर्षका लागि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति धनुषाले, रत्नसागर गुठीको जनकपुरधाम–१४ स्थित विभिन्न कित्ता नम्बरको १६ बिग्हा १७ कठ्ठा १९ धुर ४९ वर्षका लागि मणिपाल एजुकेशन मेडिकल ग्रुपले ठेक्कामा लिएको देखिन्छ ।

राम मन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर १ मध्ये दक्षिणतर्फबाट २ कठ्ठा ५ धुर १० वर्षका लागि मिथिला नाट्यकला परिषद्लाई, राम मन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ४११ मध्येबाट ४ कठ्ठा १९ धुर ४ कनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई, राम मन्दिर गुठीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ४९ को १३ कठ्ठा १२ धुर २ कनमा जग्गाबाट ४ कठ्ठा रामनारायण मिश्र चिन्तन प्रतिष्ठानलाई, बसही कुट्टीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ३१८ मध्येबाट ६ बिग्हा ३ कठ्ठा १५ धुर जनक हजारी विद्यापिठलाई, राम मन्दिरको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ९५ को १ कठ्ठा १९ धुर १ कनमा मध्ये उत्तर पूर्वतर्फबाट १५ धुर जग्गा २०७३ चैत ६ गते भएको सम्झौताबमोजिम निर्माण गर्ने र द्धितिय पक्षले ५ वर्षभित्र संग्रहालय निर्माण गरी प्रथम पक्षलाई हस्तान्तरण गर्ने सर्तमा मिथिला कला तथा संस्कृति संग्रहालय निर्माणका लागि प्रदान गरिएको थियो ।

त्यस्तै, जानकी मन्दिरको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ५८ को ७ कठ्ठा मध्ये ५ कठ्ठा ५ धुर १० वर्षका लागि राजर्षि जनक पतञ्जली योग साधना केन्द्रलाई, राम मन्दिरको जनकपुरधाम–४ स्थित ८ कठ्ठा २ धुर २० वर्षका लागि राजर्षि जनक क्याम्पसलाई, जानकी मन्दिरको जनकपुरधाम–६ स्थित १४ कठ्ठा २ धुर ३ कनमा मध्ये दक्षिणतर्फबाट ५ कठ्ठा १६ धुर १५ कनमा २५ वर्षका लागि राधामाधव समितिलाई ठेक्का दिइएको छ ।

व्यक्ति विशेषलाई पनि ठेक्का

गुठीका बिग्हौं जग्गाहरु व्यक्ति विशेषलाई पनि ठेक्कामा दिइएको देखिन्छ । इटहर्वा मठको इटहर्वा–३ स्थित कित्ता नम्बर १६३ को ७ बिग्हा १२ कठ्ठा १४ धुर ८ कनमा जग्गा १० वर्षका लागि सोही ठाउँ बस्ने कृष्णा कुमार चौधरी, जानकी मन्दिरको जनकपुरधाम–११ स्थित कित्ता नम्बर २१ बाट १२ धुर १५ वर्षका लागि विश्वनाथ मिश्र भन्ने सियाराम दास, राम मन्दिर अधिनस्त रहेको सखुवा, हरकरवा, हात्तीसार, जलाडी निकास विर्ता, औराहा दिगम्बरपुरको विभिन्न कित्ताबाट १४८ बिग्हा जग्गा २०७३ कातिक ११ देखि लागु हुनेगरी २०८३ कातिक १० सम्मका लागि दिगम्बरपुर–२ बस्ने राजेश महतो र राम मन्दिर बिरख कुट्टी अधिनस्त रहेको सुगामधुकरही, चक्कर, पौडेश्वर मौजाको विभिन्न कित्ताबाट १२७ बिग्हा १० कठ्ठा ७ धुर २०७३ मंसिर ५ देखि लागु हुनेगरी २०८३ मंसिर ४ सम्मका लागि सुगानिकास–८ बस्ने बरुण प्रसाद मण्डललाई मनोमानी रुपमा ठेक्का लगाइएको पाइएको छ ।

त्यस्तै, सिता कुण्डको जनकपुरधाम–८ स्थित कित्ता नम्बर १२ को २ बिग्हा २ कठ्ठा १४ धुर ११ कनमा २०७६ असार २४ देखि लागु हुनेगरी ५ वर्षका लागि दिप नारायण साहले सञ्चालन गरेको जनकपुर ड्राइभिङ्ग प्रशिक्षण केन्द्र र सिता कुण्डकै जनकपुरधाम–८ स्थित कित्ता नम्बर ९ को १५ कठ्ठा २ धुर ३ कनमा मध्येबाट १५ कठ्ठा जग्गा २०७६ असार २४ देखि लागु हुनेगरी ५ वर्षका लागि मोहन प्रसाद यादवले सञ्चालन गरेको एपी कन्स्ट्रक्सनलाई लिजमा दिइएको देखिन्छ ।

५२ कुट्टी र ७२ कुण्डको नामले प्रख्यात जनकपुरधामका ऐतिहासिक एवं पौराणिक महत्वका सम्पदाहरुको अस्तित्व संकटमा पर्दै गइरहेको छ ।

भूमाफियाहरूको संलग्नता र विभिन्न मन्दिरका महन्थहरूको व्यक्तिगत स्वार्थका कारण यहाँका ऐतिहासिक सम्पदाहरु दिन प्रतिदिन अतिक्रमणको चपेटामा परिरहेका छन् । यस शहर भित्रका अमृत कुण्ड, जनक सरोवर, बलदेव सर, गोपाल सर, धोवीयाही पोखरी, पापमोचनी सर, पयश्विनी सर जस्ता दर्जनौँ पोखरीहरूको अस्तित्व लोप भइसकेका छन् ।