जनकपुरधाम–४ का वडाध्यक्ष झामाथि वडा सदस्यले गरे हातपात

-ज्योति झा
जनकपुरधाम, १२ असार । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्षमाथि उनका आफ्नै वडा सदस्यले हातपात गरेका छन् । वडा सदस्य प्रसन्न कुमार झाले वडाध्यक्ष सुरेश झा पण्डितमाथि हातपात गरेको आरोप लगाइएको हो ।
मिट क्याम्पस सडक खण्डमा ठेकेदार प्रकाश झाद्वारा सडक ढलान र नाला निर्माणको कार्यसम्पन्न भएको योजनामा हस्ताक्षर नगरेको भन्दै उनीमाथि हातपात गरिएको आरोप लगाइएको छ । प्रसन्नले यसअघि विगतमा पनि पटक पटक वडाध्यक्ष झासँग अभद्र व्यवहार गर्दै आएको आरोप लगाइएको छ ।
कार्यसम्पन्न भएको नगरस्तरीय सो योजनाको आफूले स्थलगत अनुगमन गरेपछि मात्र फाईलमा हस्ताक्षर गर्ने अडान लिएपछि आफूमाथि प्रसन्नले एक्कासी हातपात गर्न थालेको वडाध्यक्ष झाले बताए ।
यता, वडा सदस्य झाले भने आफूले वडाध्यक्ष झामाथि हातपात नगरेको दाबी गरेका छन् । उनले नागरिकता सिफारिसका लागि सेवाग्राहीहरु विगत तिन दिनदेखि वडा कार्यालयबाहिर घण्टौं लाईनमा लागेपनि वडाध्यक्षले सिफारिस गर्न नमानेको आरोप लगाएका छन् ।
वडाध्यक्ष सुरेश झा र वडासचिव मनोज झा मिलेर विगत तिन दिनदेखि सेवाग्राहीको काम किन नगरेको भनेर सोध्न जाँदा उल्टै आफूलाई नै तथानाम गालीगलौज गरेको प्रसन्नको गुनासो छ ।
उनले कमिशन नदिने देखेपछि वडाध्यक्ष झाले कार्यसम्पन्न भएको योजनामा पनि हस्ताक्षर गर्न नमानेको आरोप लगाए । वडाध्यक्ष र वडा सचिव दुबैजना मिलेर वडा कार्यालयमा सेवाग्राहीको भीडको नाटक गरेर काम नगर्ने बहानाबाजी बनाउँदै आएको समेत बताए ।
गत आइतबारदेखि दैनिक १५० जना सेवाग्राही वडा कार्यालयमा धाउँदा पनि वडाध्यक्ष झा कार्यालयमा नबसी अन्यत्र घुमिरहेको पाइएको र सचिवले पनि काम गर्न आनाकानी गरिरहेको देख्दा आफूलाई उनीहरुको कार्यशैलीप्रति खिन्न लागेपछि कार्यकक्षमा गई टेबलमाथि एक मुक्का प्रहार गरेको प्रसन्नको भनाई छ ।
यसैबिच, नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष झाले पार्टीका वडा सभापतिलाई एक पत्र लेख्दै वडा सदस्य प्रसन्नले अनुशासन उल्लंघन गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
वडा सदस्य प्रसन्नले वडाध्यक्ष झामाथि हातपात गरी अभद्र व्यवहार प्रदर्शन गरेको र कार्यालयका टेबल कुर्सीहरु समेत तोडफोड गरेको भन्दै उनीमाथि कारवाहीको माग गरिएको हो ।

प्रसन्नले यसअघि पनि पटक पटक अनुशासन उल्लंघन गरी अपशब्द तथा अभद्र व्यवहार प्रदर्शन गरेकोले उनीमाथि आवश्यक अनुसन्धान गरी कारवाही गर्न वडाध्यक्ष झाले पार्टीसँग माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


