भारतीय सुरक्षाकर्मीको इन्काउन्टरमा नेपालका दुई युवकको मृत्यु

जनकपुरधाम, १२ असार । भारतमा डकैती गर्न पुगेका दुई युवकको भारतीय सुरक्षाकर्मीले इन्काउन्टर गरेका छन् । भारतीय सुरक्षाकर्मीको इन्काउन्टरमा परेर सर्लाहीका दुईयुवकको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको पूर्वी चम्पारणको घोडासहन थानामा सुरक्षाकर्मीको गोली लागेर लालबन्दी नगरपालिका–२, पुनर्वास बस्ने दुई युवकको मृत्यु भएको हो ।
आइतबार राती डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएको थियो । गोली लागेर ३ जना भारतीय सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
जवाफी कारवाही स्वरुप भारतीय सुरक्षाकर्मीको गोली लागेर डकैती समूहका दुईजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ ।
मृत्यु हुनेहरुमा सर्लाही लालबन्दी–२ पुनर्वासका दुई युवक रहेको बताईएपनि स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी रहेको छ । भारतीय सुरक्षाकर्मीको दाबी अनुसार फरार हुन सफल डाँका समूहका अन्य डेढ दर्जन युवाहरु नेपालतर्फ भागेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले भारतीय सुरक्षाकर्मीको कारवाहीमा सर्लाहीका दुईजनाको मृत्यु भएको खबर सुनिएपनि आधिकारिक रुपमा थाहा नभएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


