काठमाडौं, १२ असार । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले उनलाई पक्राउ गरेको हो ।

अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शर्मालाई पक्राउ गरेको पुष्टि गरेका हुन् ।

शर्मा यसअघि भारतमा लुकीछिपी बस्दै आएका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम शर्माले कानुन विपरीत आफ्ना विभिन्न कम्पनी तथा फर्ममा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ ।

बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकहरुविरुद्ध सहकारी विभाग र सिआइबीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए ।

सूचना जारी गरी सिआइबीले भक्तपुरमा कार्यालय भई काठमाडौं ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्युरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोधसमेत गरेको छ ।