काठमाडौं, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले त्रिभुवन विश्वविद्यालयको उन्नती र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाई अगाडि बढ्नु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विद्यार्थीको रुचिअनुसार स्वदेशमै अध्ययन गर्नसक्ने अवस्था सिर्जना गर्न विश्वविद्यालयसँग आग्रह गरे । उनले विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए ।

उनले विद्यार्थी र अभिभावकको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएको उल्लेख गरे ।