जनकपुरधाम, १० असार । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–८ पोर्ताहामा स्थानीय ज्ञानेन्द्र कुमार सिंहले सञ्चालन गरेको लवकुश वालुवा प्रशोधन उद्योग र सुरेन्द्र कुमार सिंहले सञ्चालन गरेको उज्वल सप्लायर्समाथि अर्का व्यक्तिले कब्जा जमाएका छन् ।

विगत ५ वर्षदेखि सञ्चालन गर्दै आएको सो उद्योगहरुमाथि सोही ठाउँ बस्ने अक्षय लाल महतोले जर्बजस्ती कब्जा जमाएका हुन् ।

उनले उद्योगका सञ्चालकहरुसँग हप्ता असुलीको नाममा मासिक ५ लाख रुपैयाँ महिनाबारी ट्याक्सको रुपमा तिर्न दबाब दिँदै आएका छन् । उनीहरुले आफूले सो रकम तिर्न नसक्ने भनेपछि अक्षय लालले उद्योगमाथि नै जर्बजस्ती कब्जा जमाएका छन् ।

आइतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै लवकुश वालुवा प्रशोधन उद्योगका सञ्चालक ज्ञानेन्द्रले भने, ‘हत्या मुद्दामा करिब ६ वर्ष सिरहा कारागारमा बसेर आएका स्थानीय अक्षय लाल महतोले हामीसँग मासिक ५ लाख रुपैयाँ तिर्न दबाब दिँदै आएका छन् । दैनिक ५० जनाको संख्यामा गएर उद्योग कब्जामा लिई हामीलाई कुटपिट गरेर भगाएका छन् । लवकुश वालुवा प्रशोधन उद्योगमा भएका करोडौंको मालसामान र उज्वल सप्लायर्समा भएका ६० लाखको मालसामान उनीहरुले आफूखुसी नक्कली भ्याट बिल बनाएर बेचिसकेका छन् ।’

उनले अक्षय लाल महतो, दिनेश कुमार महतो, किशोरी महतो, अमित कुशवाहा, लाले महतोलगायत १०/१२ जनाको समूह बनाएर उनीहरुले आफूहरुमाथि अत्याचार गर्दै आएको सुनाए ।

उनले उच्च अदालतको आदेश कार्यान्वयनमा धनुषा प्रहरीले उल्टै आरोपितलाई नै संरक्षण दिँदै आएकोसमेत बताए ।

उनले भने, ‘हामीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिँदा हाम्रो उजुरी नै दर्ता गरिएन । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आफूहरुलाई न्याय दिलाउनुको सट्टा उल्टै उनीहरुलाई नै बढाबा दिइरहेका छन् । डीएसपी गौतमले त झन यदी उद्योग सञ्चालन गर्नु छ भने अक्षय लाललाई पैसा दिनुस् नभए उद्योग बन्द गर्नुस्समेत भनेका छन् ।’

उनले अक्षय लाल महतो सहितका व्यक्तिलाई संरक्षण गर्न प्रशासनले अदालतको आदेशलाईसमेत अवहलना गर्दै निषेधाज्ञा कार्यान्वयन नगरेको आरोप लगाए ।

उच्च अदालतले उद्योगमाथि गैरकानूनीमा कब्जा गरेको रिट सम्बन्धमा जारी गरेको निषेधाज्ञा आदेश कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय ढल्केवरले बेवास्ता गरेको देखिएको छ ।

उनीहरुले अक्षय लाल सहितका व्यक्तिले कब्जा गरेर राखेको आफ्नो सम्पत्ति छुटाउन र शान्ति सुरक्षाका लागि सुरुमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा उजुरी नै लिइएको थिएन । पछि हुलाक मार्फत पठाएपनि प्रहरी प्रशासनले कुनै पहल नगरेपछि बाध्य भएर उच्च अदालतमा मुद्दा दायर गर्दा निषेधाज्ञाको अन्तरिम आदेश जारी भएको थियो । तर, सो आदेश कार्यान्वयन नहुँदा उनीहरुले पुनः अदालतमा आदेशका लागि निवेदन दिएका थिए । अदालतले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयलाई आदेश कार्यान्वयनका लागि पत्राचार मार्फत निर्देशन दिँदासमेत ती निकायहरुबाट अवहेलना गरिदैं आएको छ ।

उज्वाल सप्लायर्सका सञ्चालक सुरेन्द्र सिंहले अक्षय लाल समूहका व्यक्तिहरुले अवैध रुपमा असुल्दै आएको हप्ता असुलीबाट प्रहरी प्रशासनलाई समेत कमिशन दिइरहेकोले प्रहरीले आफूहरुको जाहेरी समेत लिन नमानेको र अहिले अदालतको आदेशसमेत अवहेलना गरी आरोपितलाई नै संरक्षण दिइरहेको गुनासो गरे ।

अक्षय लाललगायतका व्यक्तिहरुले नक्कली भ्याट बिल छपाएर उद्योगको मालसामान पनि बिक्री गर्दै आएका छन् । केही दिन अगाडि मात्र सशस्त्र प्रहरी बल सरसाले नक्कली बिल छापेर माल लोड गरी बिक्रीका लागि लगिरहेको बेला प्रदेश २–०३–००१ ख २९६३ नम्बरका सहित तिनवटा गाडी पनि नियन्त्रणमा लिएको ज्ञानेन्द्रले बताए ।

उनीहरुको अपराधिक कार्यले आजिज भई ज्ञानेन्द्र र सुरेन्द्रले अक्षय लाल महतो, उनका छोरा अमित कुशवाहा, किशोरी महतो, लालबाबु महतो र जिल्ला प्रहरी कार्यालय तथा डीएसपी वेदप्रसाद गौतमलाई विपक्षी बनाई अदालतमा मुद्दा दायर गरेका थिए ।