बालकसँगै साइकलमा सवार भई अपरिचित युवक साइकल लिएर फरार

जनकपुरधाम, १० असार । जनकपुरधाममा अनौठो चोरीको घटना भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ विश्वकर्मा चोक बस्ने शंकर महासेठका ११ वर्षीय छोरा रौनक महासेठले चलाईरहेको साइकलमै सवार भएर सोही साइकल चोरी गरी चोर फरार भएका छन् ।
शनिबार बिहान साढे ८ बजे रौनकले आफ्नो घर नजिकै बाटोमा साईकल चलाईरहेका बेला मास्क लगाएर आएका एकजना अपरिचित युवाले उनीसँगै साईकलमा सवार भई बालकलाई छक्याएर साईकल लिई फरार भएका हुन् ।
रौनकका पिता शंकरले भने, ‘बिहान बिहानै मेरो छोरा साईकल लिएर घरबाट कुनै सामान किन्न पसलतर्फ गईरहेको थियो । सोही क्रममा मास्क लगाएका सो युवकले उनलाई रोक्न लगाई बाबु तिमी कुन स्कुलमा पढछौ भनेर सोध्यो । रौनकले आफू सेन्ट जेभियर्स हाईस्कुलमा अध्ययन गरिरहेको सुनाएपछि उनले म पनि सोही विद्यालय आसपासमा बस्छु, मलाई त्यहाँसम्म साईकलमा बसाएर छोड्देउ भन्यो । रौनकले नमान्दा थोरै दुरीमा छ, १० मिनेटमै आईहाल्छौ मलाई एकदम जरुरी काम छ छोड्देउ न बाबु भनेर आग्रह गरेपछि रौनकसँगै उनी साईकलमा बसेर जिल्ला प्रहरी कार्यालयसम्म पुगे । त्यहाँसम्म पुगेपछि सो युवकले बाबु तिमि पछाडि बस म साईकल चलाउँछु भन्दै उनलाई उत्रिन भने । रौनक साईकलबाट ओर्लेर सो युवकको हातमा साईकल थमाउन नपाउँदै उनी सो साईकल लिएर फरार भएका थिए ।’

महासेठले साईकल चोरी हुनु सामान्य घटना भएपनि बालकलाई यसरी छक्याएर उनको घरभन्दा टाढा लगि बिच्चलीमा पार्नु ठूलो कुरा रहेको बताए । उनले भोलीका दिनमा अन्य अभिभावकको सन्तानसँग पनि यस्ता घटना नहोस् भनेर सचेत बस्न आफूले यो कुरा पत्रकारलाई सुनाएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


