दाङ, १० असार । सशस्त्र प्रहरी रूपन्देहीले करिब दुई किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले १ करोड ८५ लाख ६५ हजार ३५५ रुपैयाँ बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका–१० का २१ वर्षीय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिए । चेकजाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुईवटा सुनको इँट्टा फेला परेको उनको भनाइ छ ।

‘सुनमा स्विट्जरल्यान्ड, एक किलो फाइन गोल्ड लेखिएको छ । कारमा फल्स बटम बनाई उक्त वस्तु ल्याइएको पाइएको छ,’ थापाले भने, ‘आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका छौ, थप अनुसन्धान भइरहेको छ ।’