करले डामेपछि जनकपुरधामका व्यवसायीद्वारा आलु-प्याजको बिक्री ठप्प

जनकपुरधाम, १० असार । बजेट भाषणमार्फत नेपाल सरकारले तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि जनकपुरधामका व्यवसायीले आलु र प्याजको बिक्री ठप्प गरेका छन् ।
आलु प्याजको आयात ‘शून्य’मा झरेपछि व्यवसायीले बिक्री ठप्प गरेका हुन् ।
यसअघि भारतबाट आयात हुँदै आएको आलु र प्याज जेठ १८ गतेपछि आयात हुन छाडेको छ ।
करलाई कारण देखाएर व्यवसायीले आयात रोक्दा अब सर्वसाधारणको भान्छा महँगिने देखिएको छ ।
अहिले जनकपुरधामको पेठियास्थित तरकारी बजारबाट भारतीय आलु प्याज बिक्री भइरहेपनि यो यसअघि नै आयात भएर बसेको स्टक मात्रै रहेको र नयाँ आलु प्याजको आयात ठप्प रहेकोले बिक्री वितरण बन्द गरिएको आलु प्याज व्यवसाय संघ जनकपुरधामका अध्यक्ष अलाउद्दिन राईनले जानकारी दिए ।
‘बजेटपछि जेठ १६, १७ र १८ गते भारतबाट प्याज आएको थियो, तर त्यसपछि आयात शून्य छ’ राईनले भने, ‘प्याजको कारोबार नै छैन, त्यही भएर मूल्यसूची पनि राख्न छाडेका छौँ ।’ अब प्याज आउँछ की आउँदैन भन्ने अन्यौल नै रहेको उनको भनाइ छ ।
‘बाहिर महँगो भइसक्यो भन्ने सुनिएको छ, तर प्याजको कारोबार यहाँबाट शून्यमा झरेको छ’ राईनले थपे, ‘बाहिर अहिले बिक्री भइरहेको प्याज पनि यहीबाट केही दिन अघिसम्म गएको स्टक हो, त्यो सकिएपछि बाहिर पनि नपाउने अवस्था आउन सक्छ ।’
सरकारले भ्याट लगाएपछि व्यापार गर्न कठिनाइ भइरहेको बताउँदै उनले प्याजमा प्रतिकिलो १३ र आलुमा प्रतिकिलो ८ रूपैयाँ भन्सार तिर्न परिरहेको गुनासो गरे । भ्याट लागेपछि दुई/चार ट्रक आलु प्याज मगाएपनि आधा मात्र बिक्री भएको र आधा गोदाममै सँडेको उनको दु:खेसो छ ।
ग्राहकहरू सिमानाकास्थित भारतीय बजार जान थालेपछि व्यापार चौपट भएको र यहाँका व्यापारीहरू लाखौंको घाटामा गएको उनले बताए ।
उनले सरकारसँग आलु प्याजलगायत तरकारी र फलफूलमा लगाइएको भ्याट खारेज गर्न र खुला सिमानाकालाई नियन्त्रण गर्न आग्रहसमेत गरेका छन् ।
आफूहरूले बिक्री वितरण ठप्प गर्दा ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै अध्यक्ष राईनले यसको सम्पूर्ण जिम्मेवार नेपाल सरकार रहेको बताए ।
सरकारले तरकारीको आयातमा भ्याट लगाएपछि आयात रोकिएर बजारमा आलु प्याजको अभाव हुँदै गएको छ भने अन्य तरकारीको पनि भाउ बढेको छ । केराउ, सागपात, कोसे तरकारी, केराउ, बोडीमा भ्याट लगाएपछि यी तरकारी महँगिएका छन् । घिरौला, टमाटर, बन्दा कोभी, काउलीलगायतका तरकारीमा भ्याट लगाइएको छैन । तर पनि अन्य तरकारीको भाउ बढ्दा भ्याट नलाग्ने र कम मात्रामा आयात हुने यस्ता तरकारीको भाउ पनि आकासिएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका हुन् । जेठ १५ गते बजेट प्रस्तुत भएपछि जेठ १६ गतेबाटै यो निर्णय लागू भएको हो ।
जनकपुरधाम बजारमा १७ वटा थोक बिक्रेतामार्फत दैनिक १५० टन आलु प्याज बिक्री हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


