मधेसमा संतोषको ‘मिथिला थाली’

जनकपुरधाम, ५ असार । दैनिक एकैखालको स्वादमा हामी रमाइरहेका हुन्छौं । तर, कहिलेकाहीँ स्वाद फेर्न चाहने हो भने जनकपुरधामको रामानन्द चोकमा पाइने ‘मिथिला थाली’को रोजाइ उपयुक्त हुन सक्छ । व्यवसायिक रूपमा पहिलोपटक सञ्चालनमा ल्याइएको ‘मिथिला थाली’ त्यति महँगो पनि छैन । केवल २५० रुपैयाँमै हामी त्यो नयाँ स्वादको अनुभव लिन सक्छौं ।

मास्टर सेफ सन्तोष साहले जनकपुरधाममा विशेष सुविधासहितको रेष्टुरेन्ट ‘मिथिला थाली’ औपचारिक रुपमा सञ्चालनमा ल्याएका छन् ।बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता साहले जनकपुरधामको रामानान्द चोकमा ‘मिथिला थाली बाइ सेफ सन्तोष साह’ नामक रेष्टुरेन्ट मंगलबारदेखि सञ्चालनमा ल्याएका हुन् ।

मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरि साहले भने, ‘जनकपुरधाममा धेरैजसोको एउटा गुनासो थियो, खाने ठाउँ राम्रो छैन् ।बस्ने ठाउँ छैन् । मेरो लागि पनि त्यही थियो । जनकपुरधाम आएको बेला पर्यटकहरुले मिठो खाना पाउन । घर जस्तो मिठो खाना खाउन भन्ने मनसायले यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छु ।’
२५० रुपैयाँमा १७ वटा परिकार पाइने बताउँदै साहले थपे, ‘थाली बेचेबापत एक रुपैयाँदेखि तीन रुपैयाँ स्थानीय एक अनाथालयलाई दिनेछौं । रेष्टुरेन्टका खानेकुरामा जति पनि मरमसला प्रयोग हुन्छ, त्यो सबै हाम्रै दिदीबहिनी, आमाले घरमा खानामा जे कुराहरु प्रयोग गर्नुहुन्छ, त्यही नै प्रयोग हुन्छ ।’

उनले आगामी ५ वर्षभित्र यसको १०० शाखाहरु विभिन्न देशमा विस्तार गर्ने योजना रहेको उनले सुनाए । एउटा भवनमा रेष्टुरेन्ट र ब्याङ्क्वेट हल तथा अर्कोमा कोठाहरु छन् । रेस्टुरेन्टमा मिथिला आर्टहरु राखिएको छ । मिथिला थालीमा १८० जना अटाउने क्षमता छ ।झण्डै चार कट्ठा जग्गामा निर्माण गरिएको रेष्टुरेन्टभित्रको ब्याङ्क्वेट हल (भोज हल)मा ३५० जना अटाउने क्षमता रहेको साहले बताए ।
साहले भने, ‘नेपाली खाना बजारमा नेवारी खाजा र थकाली खानाको प्रशस्त ब्रान्डिङ भएको छ । तर यी खानालाई टक्कर दिने पृथक स्वादको मिथिला खानाको चर्चा भने लुप्तप्राय छ । ब्रान्डिङ आधुनिक व्यापारको एउटा महत्त्वपूर्ण पक्ष हो । आफ्नो वस्तु तथा सेवाको विशिष्टताका आधारमा ग्राहकलाई सन्तुष्ट पार्ने र आफूतिर आकर्षित गरिरहने उद्देश्यले गुणस्तरलाई स्तरीकरण गरिएका वस्तु तथा सेवाका नामको पहिचान नै ‘ब्रान्ड’ हो । सो पहिचान मिथिला खानाको पनि छ । बस्, ब्रान्डिङ हुन् सकेको छैन । सम्पूर्ण मैथिल संस्कृति नै जनकपुरधाममा फैलाउने अर्थात नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने काम भने हुन् बाँकी नै छ, जनकपुरधाममा ‘मिथिला थाली’ बाहेक अरू होटलहरू देखिएका छैनन् ।’

‘नेपाली खानाका साथसाथै मिथिला खानालाई पनि अन्तर्राष्ट्रियकरण गर्न सक्ने हो भने यसबाट ‘वर्ल्ड मेन्यू’मा हाम्रो अर्को पहिचान पनि स्थापित हुन्छ, ‘उनले भने,‘ आधुनिकीकरणका कारण बढेको ‘सांस्कृतिक विग्रह’, बजारिया खाद्य प्रणाली र पत्रु खानाबाट वाक्कदिक्क हुनुभएको छ भने हाम्रो मिथिला खाना जरुर खानुहोस् ।’
मिथिला थालीमा के–के पाइन्छ ?
मिथिला नरेश जनकको मनपसन्द खानाको रूपमा मिथिला थाली प्रचलित छ । नन भेज पारखीका लागि मिथिला थाली निकै उपयुक्त परिकार हो ।
सुरुमा घ्यू, त्यसपछि भात, राहैर दाल, कढी बडी (करी, बरी), दहीवडी (दही र वेसनबाट बनाइएको परिकार) आलुगोभी तरकारी, अदौरी, चरौरी, बिरिया, लौका सब्जी, तिलको चटनी, आदक चटनी, तरुवा (आलु, परोर, बैगन, केला र कदिम), भुजल मिर्चाइ, तिलौरी, पापड, खीर जस्ता खानेकुरा मिथिला थालीका विशेषता हुन् । थालीको अन्तिममा दही दिने यहाँको मौलिक प्रचलन हो ।

तिलको चट्नीबाट क्याल्सियम प्राप्त हुन्छ भने तिलौरीबाट ओमेगा थ्री प्राप्त हुन्छ, जो मुटुका लागि निकै स्वस्थ्यकर मानिन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


