समाजवादी मोर्चा निर्माण प्रतिगामीका लागि युद्धको घोषणा : प्रधानमन्त्री दाहाल

काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताएका छन् ।
सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेका लागि युद्धको घोषणा भएको बताएका हुन् ।
परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोजेका भन्दै उनले समाजवादी मोर्चा तिनीहरु विरुद्धको युद्ध भएको बताए ।
मोर्चा जनताको पक्षमा, प्रगतिशील र वामपन्थीको पक्षमा भएको पनि उनले बताए । प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भूमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रहसमेत गरे ।
प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको बताए । विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरुमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने उनको दाबी छ ।
नेता, कार्यकर्ताहरुको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताउँदै उनलेसमाजवादी मोर्चालाई अभियानको रूपमा लैजाने बताए । उनले आफूहरु सडकमा समेत जाने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


