रहस्यमय मृत्यु भएको आरतीको परिवारद्वारा जनकपुरधाममा पनि विरोध प्रदर्शन

जनकपुरधाम, ३ असार । धनुषामा रहस्यमय मृत्यु भएको आरती साहका लागि न्याय माग्दै माइतीपक्षले जनकपुरधाममा प्रदर्शन गरेका छन् । धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइतीपक्षले आइतबार धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन् ।
परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन् । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।
गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सुत्रीय माग राखेका छन् ।
उनीहरूले काठमाडौमा पनि धर्ना दिएका छन् । हत्यारालाई कडा कारबाहीको माग गर्दै बुबा आमासहित परिवारजन शनिबारदेखि काठमाडौंमा धर्नामा बसेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ ।
दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिँदै आएको आरोप छ । करिब दुई वर्षअघि २५ लाख नगद दिएर आरतीको विवाह मोतीबाबुसँग गरेको मृतकका बुबा विनोदले बताए ।
यसअघि पनि आफ्ना छोरीलाई उनका श्रीमान्, ससुरा र सासू मिलेर थप दाइजो माग गर्दै आएको विनोदको दाबी छ । उनले भने, ‘दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक तनाव दिँदै आएका थिए ।’
‘छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरैपटक रकम पनि दिएँ,’ उनले भने, ‘अन्ततः उसको श्रीमान्, ससुरा, सासू र देवर मिलेर कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरे ।’
स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा विनोदले भने, ‘घाँटी थिचेपछि आरती कराएकी थिइन्, त्यसपछि टोलका मानिसहरु भेला हुन थालेपछि आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै नाटक गरियो ।’

उनले विगतमा पनि पटक–पटक थप दहेजका लागि आरतीलाई उनीहरुले दबाब र कुटपिट गर्दै आएको दाबी गरे । दहेजकै रकमका लागि उनको टाउकोलगायत शरीरका विभिन्न भागमा कुटपिट गरी घाँटी थिचेर हत्या गरेको विनोदको आरोप छ ।
आरतीका ससुरा, श्रीमान् र सासूले पोल खुल्ने डरले मृत शरीर नै काव्या अस्पतालमा उपचारका लागि लगेको उनको दाबी छ । उनले आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै आफूलाई साँझ फोन गरेर जानकारी गराइए पनि घटना भने दिउँसै घटाइएको जिकिरसमेत गरेका छन् ।
उनले मोतीबाबुको काठमाडौंमा अर्कै केटीसँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी हुँदा पटक–पटक उनीहरुबीच मनमुटावसमेत हुँदै आएको बताए । विनोदले मोतीबाबुको बानी व्यहोराबारे आफूहरुले विवाह भएपश्चात् जानकारी पाएको र विवाहको बेला आफूहरुलाई केटा इन्जिनियर छ भन्दै छोरीको विवाह गरिए पनि उनी भने ब्रोकरको काम गर्दै आएको कुरा आफूहरुले पछिबाट थाहा पाएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


