जनकपुरधाम, ३ असार । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित सञ्चयकोषदेखि बसहियाको सिमानासम्म जाने सार्वजनिक सडकमा घेराबार लगाइएको आरोप लगाइएको छ ।

जनकपुरधाम–४ क्याम्पस चोक बस्ने उदय साहले सो जग्गा आफ्नो रहेको भन्दै घेराबार लगाएको स्थानीयको आरोप छ ।

सो सडक खण्डमा स्थानीय धिरज साहको पसलसम्म २३ फिट बाटो नाप नक्साको हिसाबले क्लियर रहेपनि भित्रि सडक खण्डको बाटो क्लियर नरहेको स्थानीयबासीले बताएका छन् ।

अहिले एडिबि परियोजनाअन्तर्गत बसहियाको सिमानासम्म २३ फिट क्लियर हुँदै सडक निर्माणको क्रममा रहेका बेला उदय साहले सडकमै घेराबार गरेको स्थानीय मोहन प्रतिहस्तले बताए ।

उदयले सो जग्गा ५/७ वर्ष अगाडि सो जग्गा रामा भगतसँग खरिद गरेको र आफ्नो जग्गा २६ धुर रहेको भन्दै घेराबार गरेका छन् ।

मोहनले भने, ‘जग्गा खरिद गर्ने बेलामा नापजाँच नगरि, चारकिला नछुट्याई, अहिले आएर लालपूर्जामा आफ्नो २६ धुर जग्गा रहेको दाबी गर्नु गलत हो ।’

उनले अहिले आएर उदयले सडक काटिएको बाटो पनि कब्जा गरेर घेराबार गरेको बताए ।

‘त्यहाँ सबै व्यक्तिको कित्तामा जग्गा घटिरहेको छ । तर, उदयले अमिन ल्याएर आफ्नो २६ धुर जग्गा पूरा गर्न लगाएपछि स्वभाविक रुपले सडक पनि कब्जा हुन्छ,‘उनले भने,‘ह्युम्पाइप ओछ्याइएको बेला, ग्राभेल खसाइएको बेला, पोल गाडिएको बेला र यसअघि पनि पटक पटक सडक मरम्मत हुँदा कहिल्यै नआएको व्यक्ति अहिले आएर घेराबार गर्नु जायज होइन ।’

मोहनले उदयले सो जग्गा खरिद गर्ने बेलामा पनि पोल रहेको दाबी गरे । उनले नक्सामा वास्तविक भन्नुपर्दा सञ्चयकोषदेखि दक्षिणको सडक खण्डमा धेरै ठाउँमा नक्सा नकटेपनि पिच बनिसकेको बताए ।

उनले वडाध्यक्ष सुरेश झाले आनाकानी गरिरहेकोले यसमा उनको भूमिका पनि शंकास्पद रहेको आरोप लगाए ।

यस सम्बन्धमा जग्गाधनी उदय साहका भाई विजय साहले सो जग्गा आफूहरुको रहेको र सडकको अर्कोतर्फबाट स्थानीय दुईजनाले सडक नै कब्जा गरेर घर बनाएको आरोप लगाए । उनले २३ फिट सडकका लागि आफूहरुले आफ्नो साइडबाट साढे ११ फिट दिन तयार रहेपनि अर्कोतर्फबाट सडक कब्जा गरेर घर बनाइएकोले यस्तो समस्या उत्पन्न भएको बताए ।

उनले भने, ‘मैले सडकका लागि आफ्नो जग्गा मात्रै दिने होइन । अर्को साइडबाट कब्जा गरेर घर बनाएका व्यक्तिले पनि आफ्नो घर भत्काएर सडकका लागि दिनुपर्यो नि । अनि मात्र समस्याको समाधान हुन्छ ।’

यता, स्थानीयले उपमहानगरमा गुनासो गरेपछि उपमहानगरका कार्यपालिका सदस्य राकेश विक्रम साह र वडा सदस्य महेश साहको नेतृत्वमा नगर प्रहरीसहित पुगेको टोलीले तत्काल सो घेराबार हटाएर सडक सुचारु गराएका छन् ।