जनकपुरधामबाट सञ्चालित जनकनन्दनी एफएम आजदेखि छैठौं वर्षमा प्रवेश

जनकपुरधाम, ३ असार । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट सञ्चालित जनकनन्दनी एफएम ९५.५ मेगाहर्ज आजदेखि छैठौं वर्षमा प्रवेश गरेको छ ।
सिमला देवी मिडिया हाउसद्धारा सञ्चालित आवाज विहिनहरुको आवाज जनकनन्दनी एफएम पाँच वर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश गरेको हो ।
रेडियोले हालसम्म समाचार, शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका, वातावरण, मनोरञ्जन, सुशासन लगायत समूदायका प्रत्यक्ष सरोकारका विभिन्न मुद्धाहरुलाई निरन्तर रुपमा उठान गर्दै आवाज विहिनहरुको आवाजका रुपमा आफुलाई विकास गर्दै आएको छ ।
२०७४ साल असार ३ गतेबाट परिक्षण प्रसारण आरम्भ गरेको रेडियोले यस अवधिमा जनताको सूचनाको हक प्रवद्र्धन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने प्रयास जारी राखेको रेडियोका अध्यक्ष अर्जुन मण्डलले बताए । स्वतन्त्र समाचार र सर्वपक्षीय विचार सम्प्रेषण गरेको कारण जनकनन्दनी एफएम छोटो समयमै आम स्रोताका बीच विश्वसनीय बन्न पुगेको उनले बताए ।
जनकनन्दनी एफएमले मधेस प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रमलाई आम जनताको बीचमा पुर्याउने र जनताका समस्याहरुलाई नीति निर्माणको तहसम्म पुर्याउन पुलको काम आगामी दिनमा पनि निरन्तर गरिरहने अध्यक्ष मण्डलले विश्वास व्यक्त गरे । उनले यस रेडियोले सदाझैं आगामी दिनमा समेत सबैको साझा चौतारी बन्ने प्रतिवद्धता दोहोर्याएको छ ।
जनताको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको सम्मान गर्दै सुशासन र पारदर्शिता कायम गराउने अभियानमा समेत आफूहरु अझ सशक्त भएर काम गर्ने समाचार प्रमुख दिपक कर्णले प्रतिवद्धता जनाएका छन् ।
छैठौं वर्ष प्रवेशको अवसरमा रेडियोलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने आम स्रोता, विज्ञापनदाता र कार्यरत पत्रकार तथा कर्मचारीहरुमा धन्यवादसहित शुभकामना व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


