जनकपुरधाम बजार आजदेखि राति १० बजेसम्म खुल्ने

जनकपुरधाम, ३ असार । जनकपुरधाममा आइतबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आउन लागेको छ । आज रातिदेखि जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनमा आउन लागेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले सो रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको हो । नगरप्रमुख मनोजकुमार साहले तत्काललाई राति १० बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिए ।
नगरप्रमुख साहले अहिले सुरु गरेपछि बिस्तारै बजार सुधार गर्दै जाने बताए । जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनका लागि जनकपुरधाम उद्योग वाणिज्य संघले धेरै पहिलेदेखि माग गर्दै आएका थिए ।
उद्योगी व्यवसायीको मागबमोजिम रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख साहले आइतबारदेखि रात्रिकालीन बजार सञ्चालनको प्रस्ताव गरे ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए ।
महासेठले खस्किँदो जनकपुरधामको बजारलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा संघले लामो समयदेखि परामर्श गर्दै आएको बताउँदै रात्रिकालीन बजारले जनकपुरधामको आर्थिक विकासमा टेवा पुग्ने दाबीसमेत गरे ।
उनले रात्रिकालीन बजार सञ्चालनका लागि प्रहरी प्रशासनले शान्ति सुरक्षाको व्यवस्थालाई सहज बनाइदिनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


