रौतहट, २ असार । रौतहटको बौधीमाईमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बौधिमाई नगरपालिका–५ पवाका २५ वर्षीय अरुण साह र २६ वर्षीय सिताबी पण्डित रहेका छन् ।

घरको आँगनमा रहेको ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अरुण साहलाई अचानक विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो । करेन्ट लागेका साहसँगै रहेका पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवैजना अचेत भएका थिए ।

दुवैजनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।