बारा, ३२ जेठ । बारामा भाईब्रेसन यन्त्र चलाउने क्रममा तार सरटेज भई करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको देवताल गाउँपालिका वडा नम्बर–४ बस्ने सुनिल राम रहेका छन् ।

देवताल गाउँपालिका–४ स्थित श्री नेरामावि पिप्राढीमा निर्माण भईरहेको ४ कोठे भवनको कार्य गरिरहेको क्रममा करेन्ट लागेर रामको मृत्यु भएको छ ।

ताज कन्स्ट्रक्सन वीरगञ्जले ठेक्का कबुल गरि आयोजना सञ्चालन गरिरहेको क्रममा रामको भाईब्रेसन यन्त्र चलाउने क्रममा तार सरटेज भई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कन्स्ट्रक्सन कम्पनीको लापरवाहीका कारण सो घटना भएको मृतकका बुवा धवल रामले बताए । काममा रहेका कुनै पनि कर्मचारीलाई सुरक्षाका सामग्री कम्पनीले नदिएको उनको गुनासो छ ।

मुलुकी संहिता ऐन २०७४ को दफा १८१, १८२ र १८३ मा कुनै पनि व्यक्तिलाई लापरवाहीले मार्न नमिल्ने प्रावधान रहेको छ । तर, कन्स्ट्रकसन कम्पनीले कटेछटेका तार प्रयोग गर्नु र भाईब्रेसन मसिनमा करेन्ट पास भई मानिसको ज्यान जानु कम्पनीको लापरवाही रहेको कानुनका जानकारहरू बताउँछन् ।