धनुषामा ४२ वर्षीया एकल महिलाको विभत्स हत्या गरी फरार भएका २२ वर्षीय प्रेमी पक्राउ

जनकपुरधाम, ३० जेठ । धनुषामा ४२ वर्षीया एकल महिलाको विभत्स हत्या गरी पोखरीको छेउमा शव गाडेर फरार भएका उनका २२ वर्षीय प्रेमी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा बस्दै आएका मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेका छन् । उनी मृतक महिलाको प्रेमी रहेको खुलेको छ ।
पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।
जेठ २८ गते आइतबार साँझ ५ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–८ तारापट्टीस्थित स्व. रामचन्द्र दासको घर पछाडि २० मिटर दक्षिण पश्चिममा अवस्थित पोखरीको छेउमा गाडिएको एक मृतक व्यक्तिको लाश जंगली जनावरले खोस्रिएर देखिएको सूचना प्राप्त भएपछि तत्काल जिल्ला प्रहरी कार्यालयको टोली उक्त स्थानमा खटेको थियो । सड्न लागेको अवस्थामा मृतकको हात देखिएको र उक्त लाश पोखरीको दक्षिण पूर्वपट्टी पानीको सतह भन्दा १ फिटमाथि जमिनमा ४ फिट जति गाडिएको अवस्थाबाट उत्खनन् गरी सनाखत गराउँदा उक्त व्यक्ति स्व. रामचन्द्र दासको श्रीमति ४२ वर्षीया उषा दास रहेको खुलेको थियो ।
घटनाको अनुसन्धानका लागि तत्काल मृतकका छोरा २० वर्षीय सोनु दास र बुहारी १८ वर्षीया मञ्जु दासलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा घटना भएको मितिमा सोनु र मञ्जु कमला नगरपालिका–३ लग्मास्थित ससुराली घर गएका थिए ।
मृतकको घरमा समयसमयमा आउने जाने र बस्ने गर्दै आएका ओमलालको संलग्नता रहेको हुन सक्ने आशंका देखिएपछि उनको सुक्ष्म रुपमा खोजलास सुरु गरिएको थियो ।
खोजतलाशको क्रममा उनको लोकेशन चितवनको हाकिम चोक देखिएको र तत्काल जिल्ला प्रहरी कार्यालय चितवनसँग सहकार्य गरी मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गर्दै जाँदा ओमलाल र मृतक उषा दासबीच अनैतिक सम्बन्ध रहेको कुरा खुल्नमा आएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
ओमलाललाई उषाले पटक पटक बिबाह गर्न भनेपनि उनले नमानेर टाढा रहन खोज्दा पनि उनलाई महिलाले नै खोजेर जबरजस्ती घरमा ल्याउने गरेको कुरा अनुसन्धानको क्रममा खुलेको एसपी खड्काले बताए ।
अनुसन्धानको क्रममा जेठ २५ गते बिहिबार राति ११ बजेको समयमा ओमलाल र उषाबीच बिबाहकै विषयमा विवाद हुँदा ओमलालले एक थप्पड हानेपछि उषा बाहिर निस्केर भाग्न लाग्दा घाँटी थिचेर मारेको कुरा स्वीकार गरेको उनले जानकारी दिए ।
उषाको मृत्यु भएपछि उनको शवलाई पोखरीको छेउमा लगेर खाल्डो खनि चाँडो सडाउनका लागि कपडा खोलेर मृतकलाई खल्डोमा गाडी महिलाले प्रयोग गर्ने मोबाईल समेत पोखरीमै फालेर ओमलाल भागेका थिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखेर अन्य थप अनुसन्धान कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


