राराबका कार्यालय सहयोगी ठाकुरमाथि नगरप्रहरीले हातपात गरेको आरोप

जनकपुरधाम, ३० जेठ । स्थानीय तहको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गर्न, गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्न, स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन गर्न, स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्न, गाउँ वा नगर सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन गर्न, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन गर्न, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्न, विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनस्र्थापना गर्न, अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण गर्न, छाडा पशु चौपायाको नियन्त्रण गर्न तथा अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि नगरप्रहरीको गठन तथा परिचालन गरिएको हुन्छ ।
तर, जनकपुरधाम उपमहानगरपालिकामा भने नगर प्रहरीहरुले यी र यस्ता कामहरु नगरि बाउन्सरको रुपमा काम गर्ने गरेको देखिएको छ । केही दिनअघि स्थानीय जानकी चोकमा सार्वजनिक सम्पत्ति खाली गराउने क्रममा एक व्यापारीलाई निर्घात कुटपिट गरेको नगर प्रहरीले फेरि रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) का कार्यालय सहयोगीलाई कुटपिट गरेको घटना बाहिरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीहरुले नगर प्रमुख मनोजकुमार साहकै अगाडि राराब क्याम्पसमा कार्यालय सहयोगीको रुपमा कार्यरत जनकपुरधाम–२० रुपैठा घर भएका ४७ वर्षीय कैलाश ठाकुरलाई निर्घात कुटपिट गरेका छन् ।
गत शनिबार बिहान क्याम्पसचोकस्थित निर्मलादेवी मेमोरियल अस्पतालदेखि राराब क्याम्पसको मुलगेटसम्मको सडकपेटी खाली गराउने क्रममा राराबको मूलगेट अगाडि राखिएका निर्माण सामग्री हटाउने क्रममा सामान्य विवाद हुँदा नगर प्रहरीहरुले नगर प्रमुख साहकै उपस्थितीमा क्याम्पसका कार्यालय सहयोगी ठाकुरमाथि कुटपिट गरेका थिए ।
ठाकुरले भने, ‘शनिबार बिहान क्याम्पस प्राङ्गणमा अवस्थित मन्दिरबाट पूजा गरेर म गेटबाहिर निस्करहेको थिएँ, सोही क्रममा गेट अगाडिको पूरानो पर्खालका टुटफुट भएका निर्माण सामग्रीहरु नगर प्रहरीहरुले गाडीमा लोड गरिरहेको देखें, मैले ती सामानहरु नलगि खाल्डोमा राखिदिन आग्रह गरें, तर कसैले मेरो कुरा सुनेनन्, उल्टै मलाई हप्काउन थाले । जर्बजस्ती ती निर्माण सामग्रीहरु गाडीमा राख्न थाले । मैले यदी जर्बजस्ती गर्ने भए मेयर साहबलाई बोलाउन र वहाँले भनेपछि सोही आधारमा गर्ने भनेर अडान कसे । उनीहरु मध्ये एकजनाले मेयर साहबलाई फोन गरेर आउन भने । त्यसपछि म फेरि क्याम्पस हाताभित्र प्रवेश गरें । केहिबेरपछि मेयर साहब आउनुभयो, वहाँ रिसमा हुनुहुन्थ्यो, म गेटबाहिर निस्किरहेको बेला वहाँकै निर्देशनमा नगर प्रहरीहरुले एक्कासी ममाथि कुटपिट गर्न थाले ।’
यस सम्बन्धमा क्याम्पस प्रमुख प्रदीप कुमार प्रसादले राराब क्याम्पस त्रिभूवन विश्वविद्यालय मातहतको आंगिक क्याम्पस रहेको र यसमा स्थानीय सरकारको हस्तक्षेप नचल्ने भएकाले अनुमतिबिना भित्र प्रवेश गरी आफ्नो कार्यालय सहयोगीमाथि कुटपिट गर्नु निन्दनीय रहेको बताए ।
उनले नगर प्रमुखकै अगाडि उनका नगर प्रहरीहरुले कार्यालय सहयोगी ठाकुरमाथि हातपात गरेपनि नगर प्रमुखले एक शब्द पनि नबोल्नु र उल्टै कुटपिट गरिरहँदा मुकदर्शक भएर बस्नु अशोभनीयर रहेको बताए । घटना सम्बन्धमा आफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराईसकेको उनले बताए ।
यता, नगर प्रमुख मनोज साहले फूटपाथ अतिक्रमणमुक्त गराउने क्रममा राराबको गेट अगाडि बाटो नै जाम हुनेगरि जकथक अवस्थामा राखिएका निर्माण सामग्रीहरु हटाउने क्रममा राराबका कार्यालय सहयोगी ठाकुरले नगर प्रहरीलाई जथाभावी गालीगलौज गरेको आरोप लगाए ।
उनले अतिक्रमणको चपेटामा परेका नगरभित्रका सडकपेटीहरु खाली गर्न आफूले नै नगर प्रहरीलाई निर्देशन दिएको र सोही क्रममा उनीहरुले आफ्नो काम गरिरहँदा राराबका कार्यालय सहयोगी ठाकुरले अपशब्द प्रयोग गर्दै जथाभावी गालीगलौज गरेपछि आवेशमा आएर दुई/चार झापड हिर्काएको हुन सक्ने बताएका छन् ।
नगर प्रमुख साहले भने, ‘मेरा कर्मचारीले फोन गरेपछि म त्यहाँ पुग्दा मेरो अगाडि पनि ठाकुरले उनीहरुलाई जथाभावी गालीगलौज गरिरहेको सुने, सम्झाउन खोज्दा उल्टै आवेशमा आएर अनापसनाप बोलेपछि सामान्य हात हालाहाल भएको थियो ।’
उनले जनकपुरधाम उपमहानगरपालिकाले अतिक्रमणमुक्त सडक सभ्यता कायम गर्न सडकछेउ, फूटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री थुपार्ने, ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदलयात्रीलाई आवागमनमा समस्या भएकोले फूटपाथ अतिक्रमणमुक्त अभियान सुरू गरेको बताए ।
ठेला व्यवसायलाई पनि व्यवस्थित गर्न उपमहानगरले काम अघि बढाएको र फूटपाथ अतिक्रमण गरेर राखिएको बालुवा, गिट्टी र अन्य निर्माण सामग्री हटाउन थालिएकोले यसमा सहयोग गर्न नगरवासीसँग आग्रहसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


